लघुवित्तले नागरिकलाई बचतको ज्ञान दिएको छ : अर्थमन्त्री

होमपेज / -विद्युत / अन्तर्राष्ट्रिय / अन्तर्वार्ता / अपराध / अर्थ / आजको छापाबाट / आफ्नै विचार / उद्योग / कला संस्कृति / कृषि / खेलकुद / घटना / जीवनशैली / दुर्घटना / पर्यटन / पूर्वाधार / प्रवास / प्रवासका प्रतिभा / फोटो ग्यालरी / बिज्ञान प्रविधि / बैंक/वित्त / मनोरंजन / मुख्य समाचार / राजनीति / राशिफल / रोचक प्रसङ्ग / लेख / लेख/साहित्य / विविध / समाचार / समाज / स्वदेशको सिर्जना / स्वास्थ्य/शिक्षा /
समस्या समाधान गरेर सबल बनाउन राष्ट्रिय लघुवित्त सम्मेलनको जोड
  • रेडियो सुदूर सञ्चार
  • ५ फागुन २०८० (११ महिना अघि)
  • १११

काठमाडौं–चौथौ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौंमा सुरु भएको छ । ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारासहित सुरु भएको सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्तकै कारण नेपालका दूरदराजका नागरिक वित्तीय पहुँचमा पुग्न सफल भएको बताए । नेपालका विपन्न वर्ग, गरिब र महिलामा लघुवित्त क्षेत्रले ठूलो उत्साह भरेको उल्लेख गर्दै डा. महतले जीविकोपार्जनमा समेत महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

७७ वटै जिल्लामा फैलिएका लघुवित्तले गाउँगाउँका नागरिकमा बचत र ऋण परिचालनको ज्ञानसमेत दिएको उनले बताए । प्रजातन्त्र र लोकतन्त्र आएपछि नेपालमा लघुवित्त र सहकारीमा धेरै विकास भएको स्मरण गर्दै उनले गरिबीलाई शून्यमा झार्ने, स्थानीय स्तरमा लघुउद्यम र स्वरोजगार बनाउने तथा स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रमा जोड्न धेरै सहयोग पुगेको बताए । ‘अहिले लघुवित्तमा केही समस्या देखिएको छ,  यसलाई कसरी स्वस्थ बनाउने भन्ने सबैको चिन्ताको विषय हो । केही समस्यालाई देखाएर स्वार्थ समूहले खेल्ने प्रयास गरेको देखिएको छ, यस्तो राम्रो क्षेत्रलाई राजनीतिकरण गर्न खोज्नेलाई कदापि सफल हुन दिनेछैनौँ,’ डा. महतले भने, ‘ऋण नतिर्न उस्काउने खतरनाक प्रवृत्ति हो । सरकार चुप लाग्दैन, सरकारको साथमा लघुवित्तकै सदस्य र बचतकर्ता मिलेर गलत प्रवृत्तिलाई हराउनुपर्छ ।’

ऋण तिर्नु पर्दैन भन्ने भ्रममा नबस्न पनि आम ऋणीलाई उनले आग्रह गरे । ‘लिएको ऋण तिर्न पर्दैन, हामी माफी गर्दिन्छौँ भन्दै आशा जगाएर स्वार्थ समूह खेल्न खोज्दैछ ।  बचतकर्ताको बचतबाट लगेको ऋण कदापि मिनाहा हुँदैन । बरु सरकारले विभिन्न सहजीकरण गरेको छ । ऋण त तिर्नैपर्छ । तिर्न पर्दैन भन्ने प्रवृति परास्त हुन्छ,’ डा महतले भने । ऋण तिर्न पर्दैन भनेर भ्रम फैलाउनेलाई राज्यले सहन नसक्ने महतको चेतावनी थियो । 

नेपाल राष्ट्र बैङ्कका कायम मुकायम गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले २१ प्रतिशत जनसङ्ख्या औपचारिक वित्तीय पहुँचमा नरहेको अवस्थामा लघुवित्तले खेलेको भूमिकाको प्रशंसा गरिन् । समावेशी विकासका लागि सरकारले विभिन्न कार्यक्रम ल्याउँदा पनि अपेक्षित सफलता हात नपरेको अवस्थामा लघुवित्तको सहायताले मात्रै समावेशी विकास भएको उनको भनाइ थियो । ‘आर्थिक असमानता हटाउन, विपन्नलाई सम्पन्न बनाउन, गरिबी निवारण गर्न,  स्थानीय विकास लगायतमा लघुवित्तले खेलेको भूमिका निकै महत्त्वपूर्ण छ, हामी सबैले यसको प्रशंसा गर्नुपर्छ,’ तिम्सिनाले भनिन्, ‘आय आर्जन तथा रोजगारीको सृजनामा लघुवित्तले राज्यलाई ठूलो गुन लगाएको छ ।’

धेरै विषय सकारात्मक हुँदा हुँदै पनि लघुवित्तमा समस्या देखिन थालेकाले आफै सुध्रिनुपर्ने उनको सुझाव थियो । निस्क्रिय कर्जा बढेर ६ प्रतिशतभन्दा माथि जाँदा जोखिम देखिएको भन्दै कायम मुकायम गभर्नर ढुंगानाले अवस्था थप बिग्रन नदिन सबैले जिम्मेवार भएर काम गर्नुपर्ने सुझाव दिइन् । 

आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले गरिब र विपन्न परिवारलाई नै लक्षित गरेर लघुवित्तको सुरुवात भएकोले बाटो बिराएकाहरु सही बाटोमा आउनु अहिलेको आवश्यकता रहेको बताए । नेपालमा तीन दशकअघिदेखि सेवा थालेका लघुवित्तले महिला, गरिब र विपन्नलाई एउटा युगबाट अर्कै युगमा लगेको उहाँको भनाइ थियो । 

लघुवित्तमा पछिल्लो समय समस्या आउनुमा सहकारी संस्थाकै कमजोरी रहेको उनको भनाइ थियो । ‘यो बीचमा लघुवित्तमा केही समस्या देखियो । लघुवित्त संस्थालाई कम्पनी ऐन अनुसार चलाउन थालियो, शेयरधनीले बढी नाफामा लैजाने खालका क्रियाकलाप गरे, लाभांश बाँड्ने क्रम बढ्यो, लघुवित्त त धेरै नाफा पाउने थलो रहेछ भनेर लगानी गर्नेहरुको बाढी आयो । लघुवित्तका सदस्यलाई हामीले शेयरहोल्डर बनाएनौँ, त्यहाँ ठूलो गल्ती भयो,’ श्रेष्ठले भने, ‘ऋण प्रवाह गर्दा पनि लापरबाही भयो, सरकारले नयाँ लाइसेन्स खुलायो झन विकृति र विचलन आयो । अस्वस्थ प्रतिस्पर्धा भयो । बढी लगानी गर्न लगानीकर्तालाई तानातान गर्ने र ब्याजमा मनोमानी गर्ने विकृति देखिए ।’

विगतका गल्तीबाट अब लघुवित्त सुधारको बाटोमा लागेको भन्दै श्रेष्ठले यो सम्मेलनलाई नवयुगको सुरुवात मानेर अघि बढ्न आग्रह गरे । लघुवित्त क्षेत्रमा समस्या देखिनु एउटा पाटो भएको तर अनावश्यक हल्ला र अफवाहले पनि अर्को समस्या थपेको उनको भनाइ थियो । 

नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष रामबहादुर यादवले लघुवित्तको क्षेत्र विषम परिस्थितीबाट गुज्रिएको समयमा भएको यो सम्मेलनको ठूलो महत्त्व राख्ने बताए  ।  विश्वका अरु थुप्रै देशमा लघुवित्त सम्मेलन हुने गरेको तर लघुवित्त सदस्य सम्मेलन भने नेपालमा मात्रै हुने गरेको भन्दै यादवले नेपालमा लघुवित्तहरुले कसरी आफूलाई सुधार गर्दैछन् भन्ने राम्रो प्रमाण यो सम्मेलनलाई पनि लिन सकिने बताए । 

अन्तिम अध्यावधिक: ४ मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस