३ सेकेन्डको भिडियो, १० करोडको नोटिस, सही र गलतको लडाइँ ।
दक्षिण भारतीय फिल्म उद्योगका दुई ठूला नाम अहिले सामाजिक सञ्जालमा बहसको केन्द्रमा छन् ।
फिल्म निर्माता-अभिनेता धनुष र अभिनेत्री नयनताराको नाम विगत केही दिनदेखि चर्चामा छ । यो विवादमा दुवैका फ्यान आफ्ना मनपर्ने व्यक्तिको समर्थनमा उत्रिएका छन् । सामाजिक सञ्जालमा भइरहेको यो बहसको अन्त्य हुने देखिँदैन ।
नयनतारालाई तमिल फिल्ममा ‘लेडी सुपरस्टार’ भनिन्छ । उनी साउथ फिल्मकी सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री पनि हुन् । यस मामिलामा उनले अन्य अभिनेत्रीको समर्थन पनि पाएकी छिन् ।
धनुषले ३ सेकेण्डको भिडियोका लागि आफूसँग १० करोड भारु मागेको आरोप नयनताराको छ । खुला पत्रमा उनले धनुषबारे धेरै कुरा भनेकी छन् ।
नेटफ्लिक्समा नयनतारामाथि बनेको डकुमेन्ट्री ‘नयनतारा : बियन्ड द फेयरी टेलर’को ट्रेलर सार्वजनिक भएपछि विवाद सुरु भएको थियो । यो डकुमेन्ट्री अहिले नेटफ्ल्क्सिमा छ ।
ट्रेलरमा देखाइएको ३ सेकेण्डको भिडियो फिल्म ‘नानुम राउडी धन’को सुटिङका क्रममा बनाइएको हो । फिल्मका निर्माता समेत रहेका धनुषले आफ्नो अनुमतिबिना भिडियो प्रयोग गरेको आरोप लगाएपछि नयनतारालाई नोटिस जारी गरिएको हो ।
तर, नयनताराको आरोप, भिडियो वा सूचनाका सम्बन्धमा धनुषले कुनै सीधा बयान दिएका छैनन् । धनुषका वकिल अरुणले नोटिसमा आफ्नो धारणा राखेका छन् ।
नोटिसमा भनिएको छ, ‘ननुम राउडी धनको अधिकार वन्डरबार प्रोडक्सनसँग रहेको नयनताराले अस्वीकार गरेकी छैनन् । यस्तो अवस्थामा फिल्मको छायांकनका क्रममा बनाइएको भिडियो फुटेजमा पनि धनुषसँग अधिकार रहेको स्पष्ट हुन्छ ।’
३ सेकेण्डको भिडियोलाई लिएर विवादपछि धेरै अभिनेत्रीहरू नयनताराको समर्थनमा उभिएका छन् । नयनताराले इन्स्टाग्राम र एक्समा खुला पत्र सेयर गरेकी छन् जसमा अभिनेत्रीहरूले लाइक र कमेन्ट गरेका छन् ।
तर, केही सामाजिक सञ्जाल प्रयोगकर्ताले नयनताराले आफ्नो डकुमेन्ट्रीका लागि पब्लिसिटी स्टन्ट गरिरहेको भन्दै आलोचना गरेका छन् ।
विवाद के हो ?
वृत्तचित्र ‘नयनतारा : बियोन्ड द फेयरीटेल’मा अभिनेत्री नयनताराको जीवनी देखाइएको छ । यसमा उनको प्रेम, विवाह र करियरलाई स्पेस दिइएको छ ।
नयनताराको ४० औं जन्मदिनको अवसरमा नोभेम्बर १८ मा नेटफ्लिक्समा डकुमेन्ट्री रिलिज गरिएको थियो । तर, यो रिलिज हुनुअघि नै उनी विवादमा आएकी थिइन् ।
नयनताराले जुन ९, २०२२ मा निर्देशक विग्नेश शिवसँग विवाह गरेकी थिइन् । त्यसपछि मात्रै उनको डकुमेन्ट्री सार्वजनिक भएको हो । नेटफ्ल्क्सि रिलिजअघि डकुमेन्ट्रीको ट्रेलर सार्वजनिक थियो । उनी र विग्नेश फिल्म ‘नानुम राउडी धन’ को सुटिङका क्रममा प्रेममा परेका थिए । दुवैले २०२२ मा विवाह गरेका थिए ।
नयनतारा भन्छिन्, ‘फिल्म ‘नानुम राउडी धन’को सुटिङको क्रममा व्यक्तिगत रूपमा बनाइएको ३ सेकेण्डको भिडियो डकुमेन्ट्रीको ट्रेलरमा प्रयोग गरिएको छ, यसबारेमा धनुषले १० करोड क्षतिपूर्तिको नोटिस पठाएका छन् । जुन अचम्मको कुरा हो ।’
यस डकुमेन्ट्रीका लागि फिल्म क्षेत्रका शुभचिन्तकहरुले सहयोग गरेको नयनताराले बताइन् । उनका धेरै फिल्मका सम्झनालाई पनि डकुमेन्ट्रीमा देखाइएको छ ।
निर्देशक एट्ली, अभिनेत्री राधिका, अभिनेता राणा दग्गुबाती, नागार्जुन, निर्देशक विष्णुवर्धन लगायत नयनतारासँग काम गरेका धेरै व्यक्ति यसको ट्रेलरमा देखिएका थिए । यसमा उनी नयनताराको कुरा गर्छन् ।
यसबाहेक नयनतारा र विग्नेश शिवलाई पनि आफ्नो प्रेम र त्यसपछि विवाहको कुरा गरेको देखाइएको छ । उनका धेरै ठूला फिल्मका गीत र दृश्य पनि डकुमेन्ट्रीमा प्रयोग भएका छन् ।
दुई वर्ष कुर्दा पनि धनुषबाट कुनै प्रतिक्रिया नआएको नयनताराले बताएकी छन् । उनलाई फिल्म ‘नानुम राउडी धान’का गीत, दृश्य र तस्वीर प्रयोग गर्ने अनुमति नपाएको उनको भनाइ छ । यस्तो अवस्थामा डकुमेन्ट्रीलाई पुनः सम्पादन गर्नुपरेको थियो ।
नयनताराले फिल्मको गीत पनि प्रयोग गर्न नपाएकोमा आफू निकै रिसाएको बताइन् । उनले आफ्नो खुल्ला पत्रमा के निर्मातालाई सेटमा उपस्थित व्यक्तिहरूको स्वतन्त्रता र जीवन नियन्त्रण गर्ने अधिकार छ भन्दै प्रश्न गरेकी छन् ।
उनले धनुषलाई दिएको सूचनाको कानुनी जवाफ दिने पनि बताइन् ।
बीबीसीसँगको कुराकानीमा वकिल भेत्रीचेलभन्लेले प्रतिलिपि अधिकार ऐन १९५७ को बारेमा कुरा गरे ।
उनले भने, ‘कला र साहित्यसँग सम्बन्धित कृतिहरू प्रतिलिपि अधिकारको अधीनमा हुन सक्छन् । पुस्तक, संगीत र दृश्यहरूमा प्रतिलिपि अधिकार फरकफरक हुन्छ ।’
वकिलले भने, ‘यस मामलामा पक्कै पनि फिल्मको सुटिङका क्रममा भिडियो बनाइएको हो, तर कानुनअनुसार यसमा फिल्म निर्माताको अधिकार छ ।