गृहमन्त्री रमेश लेखकको पहलमा अति विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गरिएको छ ।
मन्त्रीपरिषद्बाट पहिलो संशोधन भएको उक्त कार्यविधि सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट औपचारिक रुपमा कार्यान्वयनमा आइरहेकोे गृह मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमण जाँदा/आउँदा बिदाइ र स्वागतमा अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुने पदाधीकारीको संख्या कटौती गृह मन्त्रालयका सुचना अधिकारी दिलकुमार तामाङले जानकारी दिनुभयो ।
“ भीभीआईपी विदेश भ्रमणमा जाँदा विमानस्थलमा पदाधीकारीहरु उपस्थित हुनुपर्ने व्यवस्था लामो समयदेखि रहेपनि गृहमन्त्रीको पदाधीकारी उपस्थित हुनुपर्ने संख्या घटाउने प्रस्ताव चार दिन अघि मन्त्रीपरिषद्ले कार्यविधिको पहिलो संशोधन स्वीकृत गरेको छ ।” सुचना अधिकारी तामाङले भन्नुभयो–“ भीभीआईपीको स्वागत र बिदाइ व्यवस्थीत र प्रभावकारी बनाउन संशोधन गरिएको हो ।”
प्रस्ताव संशोधित कार्यविधिअनुसार राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा फर्किदा उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीसहित १४ जना पदाधीकारी उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । यसअघि राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा फर्किदा उपराष्ट्रपति सहित २३ जना पदाधीकारी विमानस्थलमा उपस्थित हुने गरेका थिए ।
“ अति विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्ति विदेश भ्रमण जाँदा र फर्किदा गरिने स्वागत र बिदाइलाई प्रभावकारी बनाउन कार्यविधि संशोधन गरिएको छ ।” उहाँले भन्नुभयो–“ सुरक्षा व्यवस्थापन कार्यविधि–२०८०, पहिलो संशोधन भएको हो ।”
त्यसैगरी राष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किदा अन्तरराष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारकेडसम्म जाने पदाधीकारीको संख्या पनि घटाइएको छ । मिनी कारकेडसम्म यसअघि उपराष्ट्रपतिसहित १३ जना पदाधीकारी उपस्थित हुने व्यवस्थालाई कटौती गरेर ९ जना पदाधीकारीमा सिमित गरिएको छ ।
त्यसैगरी नयाँ कार्यविधि अनुसार अब उपराष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किदा प्रधानमन्त्रीसहित १२ जना पदाधीकारी उपस्थित हुनुपर्ने व्यवस्थालाई संशोधन गर्दै सो संख्या घटाएर प्रधानमन्त्रीसहित ७ जना उपस्थित हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ ।
त्यस्तै, उपराष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किदा अन्र्तराष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारकेडसम्म जाने पदाधीकारी ७ बाट घटाएर ४ पु¥याइएको छ । अब उक्त चार जनामा प्रधानमन्त्री, परराष्ट्रमन्त्री, उपराष्ट्रपति कार्यालयका सचिब र परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल उपस्थित हुनेछन् ।
त्यसैगरी संशोधित कार्यविधि अनुसार प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किदा विमानस्थलमा अब कार्यवाहक प्रधानमन्त्रीसहित १२ जना पदाधीकारी उपस्थित हुनेछन् ।
प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किदा यसअघि कार्यवाहक प्रधानमन्त्रीदेखि प्रमुख जिल्ला अधिकारीसम्म गरी २१ जना पदाधीकारी विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुनुपर्ने व्यवस्था थियो ।
त्यस्तै प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किदा अन्र्तराष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारकेडसम्म कार्यवाहक प्रधानमन्त्रीसहित ६ जना पदाधीकारी उपस्थित हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि उक्त स्थानसम्म कार्यवाहक प्रधानमन्त्रीसहित ११ जना उपस्थित हुने व्यवस्था थियो ।
नयाँ कार्यविधिअनुसार अब प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष विमानस्थल जानुपर्ने छैन् । यसअघि राष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किदा सभामुख र राष्ट्रिय सभा अध्यक्ष विमानस्थल पुग्नुपर्ने व्यवस्था थियो ।