प्यालेस्टाइनको विद्रोही समूह हमासले गाजापट्टीमा रहेका ३३ जना इजरायली बन्धकहरू मारिएका जनाएको छ । आफूहरुले बन्धकहरुलाई सुरक्षित राख्ने कोसिस गरे पनि इजरायली आक्रमणकै कारण ३३ जना इजरायली मारिएका र केही हराइरहेको हमासले दाबी गरेको छ ।
हमासले इजरायली आक्रमणबाट बन्धकहरु मारिएको भिडियो फुटेज पनि सार्वजनिक गरेको छ । केही भिडियोमा बन्धकहरुले घरपरिवारलाई आफ्नो अन्तिम सन्देश पठाएको सुनिन्छ । गाजामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निरन्तर नरसंहारको कारण थप बन्धकहरु पनि मारिने सम्भावना रहेको हमासले चेतावनी दिएको छ ।
युद्ध रोक्ने निर्णयबारे धेरै ढिलो नगर्न हमासले नेतान्याहुलाई सुझाव दिएको छ । हमासले अस्ति एक जना बन्धकको भिडियो सार्वजनिक गरेको थियो ।
भावनात्मक तनावका कारण धेरै पटक बोल्न रोकिएका इदान अलेक्जेन्डरले आफू ४ सय दिनभन्दा बढी समयदेखि बन्दी अवस्थामा रहेको बताउँदै इजरायली सरकार र अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई गाजामा रहेका बाँकी बन्धकहरूको रिहाई सुनिश्चित गर्न आग्रह गर्नुभएको छ ।
गएको वर्षको अक्टोबरमा हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाको ज्यान गएको थियो भने २ सय ५० जनालाई बन्धक बनाएको थियो । त्यसको जवाफमा इजरायलले गाजा ध्वस्त हुनेगरी आक्रमण गर्दा झण्डै ४५ हजार जनाको ज्यान गइसकेको छ ।