सुदूरपश्चिम महोत्सव १८ औँ संस्करण आजदेखि

होमपेज / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २२ मंसिर २०८१ (२ महिना अघि)
  • ११३

‘सुदूरपश्चिम महोत्सव’ १८ औँ संस्करण आजदेखि पुष २ गतेसम्म धनगढीमा हुने भएको छ । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो । 

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष पुष्पराज कुँवरले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । महोत्सवस्थलमा स्टेज, स्टल, सचिवालय कक्ष तथा  प्रदर्शनीस्थल निर्माणलगायतका विभिन्न कार्यहरु सम्पन्न भइसकेका छन् । यस क्षेत्रका समग्र सम्भावना उजागर गरी आर्थिक, सामाजिक प्रतिकूलता र विषम सामाजिक परिस्थितिबाट गुज्रिरहेको उद्योग व्यवसायलाई पुनःस्थापित गर्न महोत्सव उपलब्धिमूलक हुने अध्यक्ष कुँवरको भनाइ छ । 

महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी र कृषि प्रविधिलाई व्यवसायमा जोड्नका लागि विशेष जोड दिइने छ । महोत्सव आयोजना गर्न तीन करोड लागत लाग्ने र १५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । यस्तै, यस वर्षको महोत्सवमा करिब पाँच लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ । 

महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि गरी पाँच सय ३१ वटा स्टल रहेका छन् । समृद्ध सुदूरपश्चिम बनाउने अभियानअन्तर्गत १८ औँ संस्करणको रुपमा यो महोत्सव आयोजना गर्न लागिएकोे सङ्घका महासचिव ओम विष्टले बताउनुभयो । 

सधैँका संस्करणमा झै यस पटक पनि महोत्सवमा बिक्री हुने टिकटको केही रकम सामाजिक कार्यका लागि छुट्टाइएको उहाँको भनाइ छ । महोत्सव अवलोकनको लागि विद्यार्थीलाई ५०, र अन्यलाई एक सय राखिएको छ भने ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई प्रवेश निःशुल्क गरिने छ । 

महोत्सवको मुख्य प्रायोजक कृषि विकास बैंक, संरक्षक नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेश, मुख्य प्रवर्द्धक सुदूरपश्चिम प्रदेश सरकार र प्रवर्द्धकका रुपमा कैलाली जिल्लाका सम्पूर्ण स्थानीय तह रहेका छन् । महोत्सवलाई भव्यरुप सम्पन्न गर्न मूल आयोजक समितिसहित २९ उपसमिति रहेका छन् । रासस ​​​​​​

अन्तिम अध्यावधिक: २२ मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस