देशका केही ठाउँमा हल्का वर्षा र हिमपात

होमपेज / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २४ मंसिर २०८१ (१ महिना अघि)
  • १६२

मौसमविदहरुले पूर्वानुमान गरेअनुसार गएरातिदेखि देशका केही ठाउँमा हल्का वर्षा र हिमपात भइरहेको छ ।

हुम्लाको सदमुकाम सिमकोट आसपासमा गएरातिदेखि नै हिमपात भइरहेको जनाइएकाे छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु प्रदेशका पहाडी भेगका एक दुई ठाउँमा पनि हल्का पानी परेको छ ।

पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै हुम्लाको सिमिकोटमा ६ दशमलव १ र बाजुरामा २ दशमलव ६ मिलिमिटर पानी परेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै ठाउँहरुमा तथा अरु प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँहरुमा हिमपात भएको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँहरुमा हल्कादेखि मध्यम तथा गण्डकी प्रदेश र बाग्मती प्रदेशका थोरै ठाउँहरु तथा कोशी प्रदेशको पहाडी भेगका एक, दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँहरुमा तथा  गण्डकी प्रदेश, बाग्मती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँहरुमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।

राति कर्णाली प्रदेश लगायत पहाडी भेगका थोरै ठाउँहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँहरुमा तथा बाग्मती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई ठाउँमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।

भोलि कोशी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

अन्तिम अध्यावधिक: २४ मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस