बाजुरा -
बाजुराका नौ वटै स्थानीय तहमा रहेका यहाँका प्रत्येक गाउँबस्तीका ग्रामीण सडक कालोपत्रे गर्नका लागि उपयुक्त भएका छन् । यद्यपि कालोपत्रे कुन तहको सरकारले गर्ने टुङ्गो लागेको छैन । पछिल्लो समय स्थानीय सरकारले यहाँका स्थानीयको माग अनुसार धमाधम गाउँमा सडक पुर्याउने काम गरे पनि अहिले ती सडक स्तरोन्नति गर्ने काम गरेका छैनन् । यहाँका स्थानीयलाई यी सडकले दैनिक उपभोग्य सामग्री ढुवानी गर्नका लागि केही सहज बनाए पनि कालोपत्रे नहुँदा भने बर्खाको समय यहाँका स्थानीयलाई आउजाउमा सास्ती हुने गरेको छ । यद्यपि हिउँदका महिनामा भने केही सहज हुने गरेको छ ।
यहाँका अधिकांश युवा काम गर्न भारतमा जान्छन् । उनीहरू त्यहाँबाट पैसा कमाएर घरपरिवारका लागि लुगाकपडा ल्याउने गर्दछन् । पहिला गाउँमा सडक नहुँदा ती सामान उनीहरूले भरियामार्फत घरमा ल्याउने गर्थे । पछिल्लो समय यहाँका अधिकांश गाउँबस्ती सडक सञ्जालको पहुँचमा भएसँगै अहिले उनीहरू गाडीमा सामान राखेर घरमै ल्याउने गर्छन् । गाउँमा पुगेका यहाँका कच्ची ग्रामीण सडकले यहाँका स्थानीयलाई हिउँदमा केही सहज हुने गरेको भए पनि बर्खाको समय आउजाउमा सास्ती नै खेप्नु परेको छ । बर्खाका बेला पानी परेका बेलामा यहाँका सडक भत्किने गर्दछन् । त्यसपछि यहाँका स्थानीयलाई घरदेखि बजार र बजारदेखि घरमा आउजाउ गर्नसमेत समस्या हुने गर्दछ ।
पछिल्लो समय यहाँका नौ वटै स्थानीय तहका सबै वडा ग्रामीण सडकको पहुँचमा भए पनि अहिले ती सडकमा अब कहिले कालोपत्रेको हुन्छ होला भन्ने चर्चा गाउँघरमा हुन थालेको छ । सडक नहुँदा सामान पिठिउँमा बोकेर ल्याउनु पथ्र्यो । अहिले गाउँमा सडक पुगेपछि ती सामान गाडीमा ल्याउने गरेका छौँ । हिउँदको महिनामा गाउँमा पुगेको यी कच्ची सडकले केही सहज बनाए पनि कालोपत्रे नहुँदा बर्खाको समय गाडी पाउनु त के पैदल हिँड्नसमेत निकै समस्या हुने गरेको खप्तडछेडेदह–२ का रामपति रोकायाले बताए । उनले भने, “अहिले गाउँमा सडक पुगे पनि गाडी भने कहिले आउने कहिले नआउने गर्दछन् । कच्ची सडकमा ज्यानको जोखिम राखेर गाडी चलाउनुपर्ने भएकाले सायद ती गाडी कहिले आउने कहिले नआउने गरेका होलान् ।”
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा, हिमाली, स्वामीकार्तिक, जगन्नाथ, बडीमालिका, गौमूल, बुढीगङ्गा, त्रिवेणी र खप्तडछेडेदह गाउँपालिकाका अधिकांश गाउँबस्ती पछिल्लो समय कच्ची सडकको पहुँचमा रहेका छन् । यी सडकमा बर्खाको समय गाडी नगुडे पनि हिउँदका केही दिनमा भने छोटा दुरीका सवारीसाधन चल्ने गर्दछन् । यहाँका पुराना पुस्ताले पहिला खच्चड, भेडा र घोडाबाट गाउँमा दैनिक उपभोग्य सामग्री ढुवानी गर्दै आएका थिए । अहिलेका नयाँ पुस्ताले भने हिउँदको महिना केही दिन भए पनि ती सामग्री गाडीमै घरमा ल्याउने गरेका छन् । यहाँका स्थानीय सरकारले पहिला गाउँबस्तीमा धमाधम कच्ची सडक निर्माण गर्ने गरे पनि अहिलेसम्म भने ती सडकको स्तरोन्नति गर्ने काम भने गरेका छैन् । खप्तडछेडेदह गाउँपालिका–६ मा रहेको कच्ची सडकलाई यो वर्ष कालोपत्रे गरिने भएको छ भने यहाँका अन्य वडामा पुगेका सडक कालोपत्रे गर्ने चरणमा रहेको खप्तडछेडेदह गाउँपालिकाले जनाएको छ । पहिला जसरी गाउँमा कच्ची सडक पुर्याउने काम गरेका थियौँ, अहिले त्यसै गरी ती गाउँमा पुगेका कच्ची सडकको स्तरोन्नति गर्ने योजना रहेको खप्तडछेडेदह गाउँपालिकाका उपाध्यक्ष बिसु नाथले बताए ।