अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २ : द रुल’ले नेपाली बक्स अफिसमा उछाल कमाइ गरेको छ । प्रदर्शनको सात दिनसम्म फिल्मले देशव्यापी १५ करोड ९० लाख रुपैयाँ ग्रस कमाएको छ ।
नेपाली वितरकले अहिलेसम्मकै महंगो मूल्यमा फिल्मलाई नेपाल ल्याएका हुन् । झण्डै ७ करोड रुपैयाँमा खरिद गरिएको वितरण अधिकारको लगानी सुनिश्चित गर्न फिल्मले २२ करोड ग्रस कमाउनुपर्छ ।
सात दिनसम्मको हिसाबअनुसार वितरकले ५ करोड २० लाख हाराहारीमा सेयर पाउँछन् । ए–एट, डीसीएन र आरआरले मिलेर सुकुमार निर्देशित फिल्मलाई नेपाल ल्याएका हुन् ।
विश्वव्यापी कमाइ हजार करोड बढी
भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्मले विश्वव्यापी एक हजार करोड भारुभन्दा बढी कलेक्सन गरेको छ । कमाइको गति अझै कायम छ । दोस्रो सप्ताहन्तमा पनि फिल्मको कमाइ केही बढ्न सक्ने अनुमान छ ।
सात दिनसम्म फिल्मले भारतभर ६८७ करोड भारु नेट कमाइ गरेको छ । तेलुगु संस्करणमा मात्र कमाइ २३२.७५ करोड र तमिलमा ३९ करोड भारु कमाएको छ ।