५० वर्ष कटेपछि मिलेको खुसी!

होमपेज / मुख्य समाचार / लेख/साहित्य /
  • रेडियो सुदूर सञ्चार
  • २८ मंसिर २०८१ (१ महिना अघि)
  • ४३३

मङ्सिर महिनाको सुरुआतसँगै बढेको चिसो, त्यसमा पनि बिहानीको समय। छुट्टीको दिन नभएकोले बिहान समयमा नै कार्यक्रम सुरु गरी निर्धारित समयमा सकाउनु पर्ने बाध्यता, फेरि कार्यक्रम सञ्चालन गर्नुपर्ने जिम्मा आफ्नै। कता कता डर अनि शिर भारी भए जस्तै भयो।

बिहानीको समयमा भुसुक्कै निदाइयो भने के गर्नु? समयमा कार्यक्रम स्थलमा पुग्न नसकिए के होला? कार्यक्रम चलाउँदै गर्दा केही तल माथि भइदियो भनेs? यस्तै यस्तै साना-साना डर मनमा लागिरहेको थियो।

मैले कार्यक्रमको निमन्त्रणा आफ्ना सम्बन्धित साथीहरूलाई सुनाएँ। अफिस जाने साथीहरूको लागि समयको अभाव अनि अन्य साथीहरूको लागि चिसो मौसम साथै बिहानै पुग्नु पर्ने भएकोले कोही जान तयार हुनुभएन। मलाई भने कुनै बहाना पार्ने छुट थिएन, म जसरी पनि जानै पर्थ्यो।

एक जना साथी (दिदी) भने कार्यक्रम बारे जानकारी लिँदै जाने रहर गर्नुभयो। मैले उहाँलाई आइपुग्नु पर्ने समय बताएँ। मैले बताएकै समयमा उहाँ भोलिपल्ट आइपुग्नु भयो।

कार्यक्रम स्थल लगभग आफ्नो घरबाट पैदल यात्रा गर्दा आधा घण्टाको समयमा पुगिन्थ्यो। मलाई केही तयारी पनि गर्नु पर्ने भएकोले मैले गाडीमा जाने कुरा गरेँ तर उनले बिहानीको समयमा हिँड्नै राम्रो हुन्छ नि भनिन्। सायद उनलाई आफ्ना जीवनका सुखद क्षण हिँड्दै कसैसँग बाँड्न मन लागेकाले पनि होला। हामी दुवै जना गफ गर्दै अगाडि बढ्यौँ।

विगत तीन महिनादेखि हामी एउटै संस्थामा आबद्ध भए पनि बोलचाल भने भएको थिएन। या भनौँ बोल्ने विषय र प्रसङ्ग नै मिलेको थिएन। तर यो मसँगको पहिलो कुराकानीमा नै जीवनमा धेरै पीडा भोगेकी उनले थोरै दुःख र धेरै सुखका कुरा बताइन् जुन सुनेर मेरो मन पनि हर्षित भयो।

३० वर्षकी हुँदा दुर्घटनामा परी श्रीमान् गुमाएकी उनले चार र सात वर्षका साना-साना छोराहरू हुर्काउन, पढाउन र सक्षम बनाएर विदेश पठाउन गरेको संघर्ष निकै पीडादायी थियो रे। श्रीमानको मृत्युपछि आफन्तले गरेका हेला उनी सम्झनै चाहन्नन् रे।

सुरुमा उनले यति दुःखका कुरा सुनाएपछि मलाई लाग्यो- ओहो! अब आज यी दिदीले मलाई आफ्ना पीडा सुनाउने भइन्। बिहानै कसैका वेदना सुनेपछि दिन दुखी भएर पो बित्ने हो कि! जो कसैका पीडाका कथा सुनेपछि आफू पनि त पीडित भइन्छ, मुटु गाँठो परेजस्तै हुन्छ र आँसु झर्न थाल्छ। शिर भारी भए जस्तै हुन थाल्छ र दिन नरमाइलो हुन्छ।

हुन त आफ्ना पीडा एकातिर सानातिना छँदै छन्, अर्काको पीडामा पनि आँसु झार्न थालियो भने खुसी हुने दिन सायद आउँदै आउँदैन र पनि कहिलेकाहीँ कसैका कष्टकर जीवन कथा सुन्न बाध्य हुनुपर्छ।

तर आज त्यस्तो भएन, उनले मसँग २२ वर्ष भोगेका अभाव, एक्लोपन र सङ्घर्षका पीडा धेरै बताइनन्। बताइन् त केवल मात्र खुसीका कुरा।

उनी हर्षित हुँदै भन्न थालिन, ‘बहिनी मलाई आज एक जना साथीले बोलाउनु भएको थियो। तर म यही कार्यक्रममा जानु छ भनेर गइनँ।’

मैले भनेँ, ‘साथीलाई भेटेर आएको भए पनि त यो कार्यक्रम भ्याइहाल्नु हुन्थ्यो नि।’

उनले हाँस्दै भनिन्, ‘होइन नि, मलाई त रातै बस्ने गरी जानु थियो। उहाँ सरसँग म फेसबुकबाट नजिक भएँ, हामी अहिले मिल्ने साथी छौँ। कहिले उहाँ मकहाँ आउनुहुन्छ, कहिले म उहाँ कहाँ जान्छु।’

म अकमक्क परेँ। फेसबुकबाट चिनेको सर साथी अनि रात बस्दै यता आउने र उता जाने! सोध्ने प्रश्न केही जानिनँ, मात्र उनका कुरा सुनिरहेँ।

आफूलाई जीवनभर साथ दिन्छु भनेर भित्र्याएको पुरुष ३० वर्ष मात्रको उर्वर यौवनमै उनलाई छोडेर गएपछि आकाश खसेझैँ र पहाडले थिचे झैँ आइपरेका दुःख कष्टहरूलाई उनले साहसिक महिला बनेर पूरा गर्दै गएकी रहिछन्। तामाका मुना जस्तै दुई छोराहरूको तोते बोली र स्याहारसुसारमा भुलेकी उनलाई छोराहरू स्कुल, कलेज र अफिसबाट आउने बित्तिकै आफूसँगै लुटुपुटु गर्दै दिनभरिका कुराहरू सोध्ने र खाने गरुन्जेल एक्लोपनको महसुस नै भएन रे। तर बिस्तारै छोराहरूका जुँगाको रेखी बस्न थालेपछि आफैँ जीवनसाथी रोजेर आफ्नै संसारमा रमाउन थालेर उनीबाट टाढा हुन थालेसँगै उनमा एक्लोपन बढ्दै जान थालेको रहेछ।

त्यसैले छोराहरूले उनलाई दिन बिताउन सजिलो होस् भनेर राम्रो मोबाइल किनेर ल्याइदिएका रहेछन्। त्यहीँबाट फेसबुक चलाउने क्रममा उनको आफूसँगै गाउँमा खेले हुर्केको आफ्ना श्रीमानका मिल्ने साथीसँग भेट भएको रहेछ। जुन बेला उनले आफ्ना श्रीमानको साथीसँग भेटिन् त्यस बेला ती श्रीमानका साथी पनि तीन वर्षदेखि क्यान्सरले थलिएकी जीवन संगिनीले छोडेर गएको पीडामा रहेछन्। जसले उनलाई श्रीमान् बितेका समयमा पटक पटक भेटेर धैर्य गर्न र बाँच्ने आधार तयार गर्न मद्दत गरेका थिए।

उनै श्रीमानका साथीलाई यस्तो अवस्थामा नभेटी बस्न उनले पनि सकिन छन्। तिनै श्रीमतीको वियोगमा तड्पिएका श्रीमानका साथी सरसँग कुराकानी र भेटघाट बाक्लिएसँगै उनलाई जीवनसँग माया लाग्न थालेको रहेछ।

उनको यति कुरा सुन्दै गर्दा हाम्रो कार्यक्रम स्थल पनि आइसकेको थियो र म उनलाई नयाँ साथीहरूसँग गफ गर्दै रमाउने सल्लाह दिएर कार्यक्रम सञ्चालन तिर लागेँ। कार्यक्रम सञ्चालन गर्दै गर्दा अतिथिहरूलाई बोल्ने अवसर दिएर म उनलाई फोन गर्थेँ। कार्यक्रममा उनले चिनेका मान्छे कोही नभएकाले कतै नरमाइलो मानेर पो बसेकी छन् कि भन्ने लाग्थ्यो मलाई। तर उनीलाई आजभोलि त्यस्तो हुन्न रे। जहाँ गए पनि जसो गरे पनि हरपल आफूलाई रमाइलो महसुस भइरहन्छ रे।

निर्धारित समयसँगै हाम्रो कार्यक्रम पनि सकियो। म उनलाई भेट्न गएँ। उनले फोटो खिच्ने रहर गरिन्। मैले पनि उनका यी फोटाहरू पक्कै उनका मिल्ने सर साथीसँग साटिन्छन् भन्ने सोचेर कलर, लाइट र पोजिसन मिलाएर त्यहाँ भएका राम्रा ठाउँहरूमा उनका राम्रा-राम्रा तस्बिरहरू खिचिदिएँ। त्यसपछि हामी चिया नास्ता गरेर घरतिर लाग्यौँ।

एक्लै हिँड्दा लामो लाग्ने त्यो बाटो आज उनको खुसीसँगै काट्न पाउँदा मलाई छोटो अनुभव भइरहेको थियो। उनी अझै भन्दै गइन्, ‘आजभोलि मलाई यस्ता कार्यक्रमहरू जहाँ पनि जान मन लाग्छ। नाच्न, गाउन, बोल्न, घुम्न, हिँड्न, डुल्न सबै गर्न मन लाग्छ। धेरै वर्ष घरभित्रै गुम्सेर दुखी हुँदै रोगहरू पालेर बसेँ, आजभोलि त मलाई सबै रोग ठिक भएका छन्। नशा च्यापिएको, माइग्रेन ग्यास्ट्रिक, युरिक एसिड सबै। अब त मलाई स्वस्थ भएर धेरै वर्ष बाँच्नु छु।’

उनले प्रसन्न मुद्रामा बताएका यी कुराहरू सुनेर म पनि प्रसन्न भएँ।

यत्तिकैमा उनले ब्यागबाट मोबाइल निकालिन्। उनी मोबाइलमा मलाई केही देखाउन चाहन्थिन्। यति नै बेला उनको मोबाइलमा घण्टी बज्यो। उनले मलाई सोही सर साथीको फोन आएको बताइन्। मैले फोन रिसिभ गर्ने सल्लाह दिएँ तर उनले निर्धक्क भएर भनिन्, ‘नाइँ! घर गएर आनन्दले गर्नुपर्छ भिडिओ कल।’

म छक्क परेँ। ओहो! सामाजिक सञ्जालले कति मान्छेहरूलाई यसै गरी खुसी हुने अवसर दिएको छ है? संसारका विभिन्न कुनामा छरिएर रहेका आफ्ना प्रिय व्यक्तिहरू आफ्नै अगाडि भएझैँ गरी कुरा गर्न पाउनु बिछोडिनेहरूका लागि कति खुसीको कुरा हो। विज्ञान आखिर गलत कहिले हुन्छ र? सामाजिक सञ्जालकै कारण कति व्यक्तिहरूको गोप्यता भङ्ग भएका र इज्जत लिलाम भएका भए पनि ‘साइन्स इज अ गुड सर्भेन्ट बट ब्याड मास्टर’ भने झैँ गल्ती त आखिर प्रयोगकर्ताको न हो।

ती दिदी आफ्ना कुराहरू सुनाउँदै निकै हर्षित भइरहेकी थिइन्। उनी भन्दै गइन्,’अब म जीवनमा फर्केर दुःखका दिन सम्झनै चाहन्नँ। उहाँसँगको मित्रता मा म एकदमै खुसी छु।’

उनले उनको साथी सरको र परिवारको फोटो देखाउँदै भन्दै गइन्, ‘उनका परिवार र मेरा छोराहरूले पनि हामीलाई सँगै हुने सल्लाह दिएका छन्। अब हामी केही समयपछि सँगै हुन्छौँ होला बहिनी। तपाईंहरूसँग पनि म टाढा हुन्छु।’

ती दिदीको अनुहारमा देखिएको खुसी र हर्षित भएको मनबाट कुनै पनि व्यक्ति निकै हर्षित देखिन्छ भने बुझ्नु कि ऊ प्रेममा छ भन्ने भनाइ सही रहेछ भन्नेमा विश्वस्त भएँ म।

अनि सोच्न थालेँ, केमा रहेछ आखिर खुसी? चाहेको कुरा प्राप्तिमा या कसैको माया प्रेम सहितको साथमा? जरुरत भएका र चाहेका बेलामा पूरा भएका काम कुराहरूले त क्षणिक खुसी मात्र प्रदान गर्छन्। स्थायी खुसीको लागि त जीवनभर साथ रहने साथी आफ्नो मनले चाहेको, खाएको, आफूलाई बुझ्ने र आफूले दिएको प्रेम र सम्मानको सम्मान गर्ने हुनुपर्छ। सायद उनले यस्तै व्यक्ति भेटिन् र यती खुसी छिन। आफ्नो जीवनको पूरै आकाश ढाकिदिने एक असल मन पाए विश्वका अर्बौँ जनताको मान्छेलाई केको चासो? अनि देशका करोडौँ जनताको किन खोजी?

उनी अल्लारे उमेरकी थिइनन्। जीवन, समय र सङ्घर्ष बुझेकी परिपक्व महिला थिइन्। उनलाई कसैको साथको चाहना हुँदो हो त साना-साना छोराहरू छोडेर उमेरमै कोही खोज्न सक्थिन्। नारी एकल भए पनि सन्तानको सुख स्याहार सुसार र अध्यात्ममा रमाएर जीवन कटाउन सक्छे। त्यसैले हुनसक्छ एकल महिलाका लागि हत्तपत्त सम्बन्ध जोडाउन नखोज्ने समाज पुरुष एकल हुने सम्भावना मात्र देख्दा पनि जोडी मिलाउने तरखरमा हुन्छ।

उनले पनि २२ वर्ष सम्म एकल महिला भएर नै त दिनहरू बिताएकी थिइन्। ५० कटेपछि उनको जीवनमा खुसी सायद भाग्यले नै जुराएको थियो।

उनी आफ्ना सुखद क्षण मलाई सुनाउँदै गइन्, म सुन्दै गएँ। उनले खुसीका दिनहरूको वर्णन गर्दै रमाइरहँदा मलाई आफ्नै परिवारको कोही सदस्य खुसी भइरहेको भान भयो। आखिर हरेक मान्छे आफू र आफ्ना प्रिय जीवन खुसी भएको नै त हेर्न र सुन्न चाहन्छ अनि प्रत्येक व्यक्ति कसै न कसैका आफन्त नै त हुन्छन्।

मैले पनि जिन्दगीको यौवन अवस्थामा एक्लिएकी ती दिदीलाई अब जीवनको उत्तरार्धमा भने सुख, खुसी र आनन्द मिलोस् भन्ने शुभकामना दिँदै उनीबाट टाढा भएँ।

हो, खुसी हरेक व्यक्तिले भएर बाँच्न पाउनु पर्छ। हिंसा, पीडा र तड्पाहटमा कोही बाँच्नु हुँदैन तर एउटै कुराले सबैलाई खुसी दिन सक्दैन। कसैलाई खुसी दिने कुरा नै कसैका दुःखका कारण बन्न सक्छन्। कसैलाई भेटाउँदा लागेको खुसी कसैले गुमाउँदा महसुस गर्छन्। कोही अरूबाट खुसी खोज्छन् त कोही आफैँ भित्रको खुसीमा रमाउँछन्।

आफू खुसी हुन चाहनेले अरूलाई पनि खुसी हुनबाट रोक्नु हुँदैन, आफ्ना कर्तव्य र संस्कार भुल्नु हुँदैन भने आफू खुसी हुने बहानामा अरूका खुसी खोस्नु पनि हुँदैन। त्यस्तै आफूले रोजेको खुसीले पछि आफैँलाई धोका दिनु पनि हुँदैन। - प्रतिभा भट्टराई 

अन्तिम अध्यावधिक: २८ मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस