शुक्रबार बिहान पक्राउ परेका भारतीय अभिनेता अल्लु अर्जुन बेलुका अन्तरिम जमानतमा रिहा भएका छन् । भारतको हैदरावादस्थित नामपल्ली अदालतले अभिनेतालाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको थियो ।
तर तल्लो अदालतको यो निर्णयलाई उनले उच्च अदालतमा चुनौति दिए । तेलंगाना उच्च अदालतले जमानत दिएको भारतीय संचारमाध्यमले जनाएका छन् । सुनुवाइका क्रममा कलाकारलाई स्वतन्त्रताको अधिकार रहेको पनि बताइएको छ । उनी एक अभिनेता भएकाले मात्रै सबै दोष उनीमाथि लगाउन नसकिने पनि अदालतको भनाइ छ ।
अल्लुलाई शुक्रबार बिहान कडा सुरक्षाबीच उनको घरबाटै पक्राउ गरिएको थियो । हैदरावाद प्रहरीले उनलाई कारमा प्रहरी चौकी ल्यायो र त्यहाँ सोधपुछ गरेको थियो । त्यसपछि आवश्यक मेडिकल जाँचपछि अभिनेतालाई तल्लो अदालतमा पेश गरियो, जहाँबाट उनलाई १४ दिनका लागि जेल पठाइएको थियो ।
अल्लुले उच्च अदालतमा दायर गरेको निवेदनमा सन्ध्या थिएटरमा भएको भागदौडमा आफू जिम्मेवार नभएको बताएका छन् । उनले दुई दिन अगाडि नै प्रहरीलाई खबर गरेको बताएका छन् । निवेदनमा अभिनेताले आफूले थिएटर व्यवस्थापनसँग थप सुरक्षा मागेको तर प्रहरीले नदिएको पनि बताएका छन् ।
गत डिसेम्बर ४ मा अल्लु अर्जुन हैदराबादको सन्ध्या थिएटरमा पुग्दा उनलाई हेर्नको लागि मानिसको भागदौड मच्चिएको थियो । अल्लु पूर्वसूचना बिना थिएटर पुगेको दाबी गरिएको थियो । भागदौडमा ३९ वर्षीया महिलाको मृत्यु भएको छ भने छोराको अवस्था गम्भीर छ ।