भारतको एक अनौठो घटना बाहिर आएको छ । गुजरातको सुरत सहरमा बस्ने एक व्यक्तिले कम्पनीमा कम्प्युटर अपरेटरको रूपमा काम गर्न नपरोस् भनेर आफ्नो औंला नै काटिदिएका छन् ।
गहना बनाउने कम्पनीमा काम गर्ने ३२ वर्षीय मेयुर तारापराले आफ्नै बायाँ हातका चार ओटा औंला धारिलो हतियारले काटेका हुन् । तर उनले सुरुमा प्रहरीलाई बयान उनले क्रममा वेदान्त सर्कल नजिकै पिसाब फेर्ने क्रममा बेहोस भएको र होसमा आएपछि औंला नै काटिएको अवस्थामा आफूलाई पाएको बताएका थिए ।
मेयुरले भने अनुसार उनी ८ डिसेम्बरमा मोटरसाइकलमा साथीको घर गइरहेका थिए । त्यही बेला वेदान्ता सर्कल नजिकको रिङ रोड पुगेपछि उनको टाउको दुख्न थाल्यो, उनलाई चक्कर लाग्यो । त्यसपछि अचेत भई ढले । त्यसको १० मिनेटपछि उनको होस खुल्यो । र, होसमा आउँदा उनले आफ्ना औंला काटिएको थाहा पाए । प्रहरीलाई बयान दिने क्रममा मेयुरले आफ्नो औंला कसैले कालो जादुका लागि काटेको हुनसक्ने बताएका थिए । तर, प्रहरीलाई मेयुरको बयान बनावटी लाग्यो ।
घटनास्थलमा कुनै प्रमाण फेला नपरेपछि प्रहरीले घटनाबारे शंका गर्न थाल्यो । उनका मोबाइल, मोटरसाइकल र नगद सुरक्षित थिए भने काटिएका औँला कहीँ भेटिएका थिएनन् ।
त्यसपछि यस घटनाको अनुसन्धान गर्न अपराध शाखालाई जिम्मा दिइयो । अनुसन्धानका क्रममा प्रहरीले मेयुरको गतिविधि, सीसीटीभी फुटेज र फोन कल रेकर्डका आधारमा प्रमाण पेश गर्दा उनले वास्तविकता स्वीकार गरे । उनले अत्यधिक कामको दबाब र परिवारको दायित्वले जागिर छोड्न नसकेको झोकमा आफ्नै औँला काटेको बताए ।
सिभिल इन्जिनियरिङमा स्नातक गरिसकेका ती युवकले प्रहरीलाई औँला र चक्कु फ्याँकेको स्थान पनि देखाए । ती सामग्री पछि फेला पारिएको छ।
प्रहरीका अनुसार मेयुर आफ्ना आफन्तको एक गहना कम्पनीमा काम गर्थे । उनी त्यहाँ लेखा विभागमा कम्प्युटर अपरेटरको भूमिका निर्वाह गर्दै आएका थिए । उनी सो कम्पनीमा काम गर्न चाहिरहेका थिएनन् । तर, ‘अब म काम गर्दिनँ’ भनेर सुनाउन सकेका थिएनन् ।
त्यसैले उनी आफूलाई कम्पनीका लागि अयोग्य बनाउनतर्फ लागे । र, आफ्नो औंला काट्ने योजना बनाए । “मेयुरले एक पसलबाट धारिलो चक्कु किनेर चार दिनपछि आइतबार राति अमरोली रिङ रोडमा मोटरसाइकल रोकेर राति १० बजे आफ्नो चार औंला काटेका थिए,” प्रहरी अधिकारीले भनेका छन्, “रक्तस्राव रोक्न उनले कुहिनो नजिक डोरी बाँधेका थिए । त्यसपछि चक्कु र औंलाहरू झोलामा राखेर फालेका थिए ।”
उनका साथीहरूले मेयुरलाई अस्पताल पुर्याएका थिए । झोलाबाट तीन ओटा औंला र अर्को झोलाबाट चक्कु बरामद गरिएको अधिकारीले जनाएका छन् ।
यस घटनामा थप अनुसन्धान भइरहेको अमरोली प्रहरीले जनाएको छ । - टाइम्स अफ इन्डिया