उस्मानिया विश्वविद्यालयका विद्यार्थीले भारतीय अभिनेता अल्लु अर्जुनको हैदराबादस्थित घर बाहिर तोडफोड गरेका छन् । यस घटनामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
यी व्यक्तिहरू अभिनेताको घरमा जबरजस्ती पस्न खोजिरहेका थिए । रोकेपछि उनीहरुले घरबाहिर राखिएको फूलका भाँडाहरु तोडेका थिए । मिडिया रिपोर्टमा अल्लु अर्जुनको घरमा टमाटर फालेको पनि बताइएको छ ।
‘पुष्पा २’ को प्रिमियरको क्रममा सन्ध्या थिएटरमा भएको भागदौडमा ज्यान गुमाएका महिलाको परिवारलाई एक करोड भारु क्षतिपूर्ति दिन विद्यार्थीले माग गरेका छन् ।
घटनाको केही समयअघि अल्लु अर्जुनले पोस्ट गरेका थिए- म मेरा सबै फ्यानलाई सधैंजस्तै जिम्मेवारीपूर्वक आफ्ना भावना व्यक्त गर्न अपील गर्छु । अनलाइन वा अफलाइन कुनै पनि प्रकारको अपमानजनक भाषा प्रयोग नगर्नुहोस् । कसैसँग दुव्र्यवहार पनि नगर्नुहोस् ।
अभिनेताले मृतक रेवतीका परिवारलाई २५ लाख भारु दिने बताइसकेका छन् । साथै घाइतेको पनि आफ्नै खर्चमा उपचार भइरहेको छ ।
गत डिसेम्बर ४ मा हैदरावादमा फिल्म ‘पुष्पा २’को प्रदर्शनको क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएको थियो । उनका छोरा गम्भीर घाइते भएका थिए । यस मामिलामा प्रहरीले अभिनेता अल्लु अर्जुन, थिएटर र सुरक्षा निकायविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो ।
प्रहरीले यो सम्पूर्ण घटनाको सीसीटीभी फुटेज पनि सार्वजनिक गरेको छ । सन्ध्या थिएटर बाहिर ठूलो भीड जम्मा भएको प्रष्ट देखिन्छ । अल्लु अर्जुन आफ्नो कारमा त्यहाँ पुग्दा रातको ९.३४ बजिसकेको थियो ।
उनी कारको सनरुफ झ्यालबाट बाहिर आएर आफ्ना फ्यानलाई अभिवादन गर्छन् । उनलाई हेर्न ठूलो भीड जम्मा भएको थियो । अल्लु अर्जुन आफ्नो कारको सनरुफमा लामो समयसम्म उभिन्छन् र त्यसपछि अचानक भागदौड हुन्छ । यो सबै पाँच मिनेटमा घटित हुन्छ ।
अल्लु अर्जुनले शनिबार पत्रकार सम्मेलनमा भने, ‘पुष्पा २ को प्रिमियरमा हैदरावादमा भएको भागदौडमा मलाई जिम्मेवार ठहराइएको छ । कतिपयले जानाजानी मेरो चरित्र हत्या गरिरहेका छन् ।