बोक्सीको आरोपमा निर्घात कु*ट*पि*ट, आईसीयूमा उपचार हुँदै

होमपेज / अपराध / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ९ पुष २०८१ (४ हप्ता अघि)
  • ६७७

कैलाली -

गाउँलेहरूले बोक्सीको आरोपमा निर्घात कुटपिट गरेपछि कैलालीको भजनीकी एक महिला गम्भीर घाइते छिन्। आईसीयूमा उनको उपचार चलिरहेको छ।

कैलालीको भजनकी ३० वर्षीया पूजालाई गाउँले मिलेर बोक्सी भन्दै कुटपिट गरेका हुन्। उनीहरूले पुस ४ गते दिउँसो ३ बजे घरबाट तानेर लगी कुटपिट गरेको उनकी आमा सरस्वती बताउँछिन्। “गाउँकै बडघर, भलमन्सा र गुरुवाको आदेशमा सबै मिलेर बोक्सी भन्दै कुटे,” उनी भन्छिन्।

यसअघि पनि बोक्सी भनेर कुटपिट गरेका थिए। त्यति वेला सहेर बसेको सरस्वती सुनाउँछिन्। “बोक्सी भनेर कुटपिट गरेको यो चौथो पटक हो,” उनी भन्छिन्, “पहिले त अलिअलि कुटपिट गर्थे, यस पटक मर्ने गरी कुटे।”

सरस्वतीका अनुसार गाउँलेहरू पुस १ गते राति पूजाको घरमा आएका थिए। राति ८ बजे आएका गाउँलेले उनलाई घरमै कुटपिट गरेका थिए। “गाउँलेले ‘म बोक्सी हुँ, गल्ती गरें, माफ गर’ भन्न लगाएका थिए,” सरस्वती भन्छिन्, “छोरीले ‘म बोक्सी होइन, किन माफी माग्ने’ भनेकी थिइन्।”

छोरीले माफी नमागेपछि उनीहरूले पुस ४ गते दिउँसो घरमै आएर कपाल तानेर लगेको सरस्वती बताउँछिन्। घरबाट तानेर करीब ५०० मिटर पर लगेपछि सबै मिलेर कुटपिट गरेको उनको भनाइ छ।

उनीहरूले लाठी र खुट्टाले निर्घात कुटपिट गरेका छन्। पूजाका शरीरभरि नीलडाम छन्। मारिदिने भन्दै कोदालोले हिर्काउँदा उनी बेहोश भएको आमाले सुनाउँछिन्।

कुटपिटबाट पूजाको शरीरमा बनेका निलडाम।
पूजा बेहोश भएपछि बचाउन उनका भाइ आएका थिए। भाइलाई पनि कुटपट गरिएको छ। “साना नातिलाई पनि छोडेनन्, बोक्सीको सन्तानलाई सिध्याउनुपर्छ भन्दै लछारपछार गरे,” सरस्वती भन्छिन्।

पूजाका पाँच र दुई वर्षका दुई छोरा छन्। श्रीमान् रोजगारीका लागि भारतमा छन्। आर्थिक अवस्था कमजोर भएकाले बोक्सी भन्दै हेप्ने गरेको उनी सुनाउँछिन्।

कुटपिट गर्दा प्रहरीलाई खबर गरेका थिए। दुई जना प्रहरी घटनास्थलमा पुगेका पनि थिए। तर उनीहरूले पनि सहयोग नगरेको आमा सरस्वती सुनाउँछिन्।

कुटपिटका कारण पूजा अचेत भएपछि मात्रै छोडेका थिए। त्यसपछि बेलुका ५ बजे आफन्तजनले भजनी नगरपालिकाको स्वास्थ्य केन्द्रमा लगेका थिए। त्यहाँ उपचार हुन नसकेपछि धनगढी रिफर गरिएको थियो।

अहिले धनगढीस्थित नवजीवन अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उनको उपचार भइरहेको छ। उनको होशमा आए पनि अझै केही दिन अस्पतालमा राख्नुपर्ने उपचारमा संलग्न डा. विदुरमणि ढकाल बताउँछन्। “कुटपिटले मांसपेशीमा नराम्रोसँग असर परेको छ। रगतमा इन्फेक्शन पनि हुन सक्ने र मुटुमा असर पुग्न सक्ने भएकाले केही दिन निगरानीमा राख्नुपर्छ,” डा. ढकाल भन्छन्।

आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न समस्या भइरहेको पूजा दुखेसो गर्छिन्। आईसीयूमा रहेकी पूजाले हिमालखबरसँगको संक्षिप्त कुराकानीमा सबै गाउँले मिलेर आफूलाई बाँच्नै अप्ठ्यारो पारेको बताउँछिन्। “मसँग उपचार गर्ने पैसा छैन। मेरो उपचारको जिम्मा कसले लिन्छ?” उनी भन्छिन्।

भलमन्सा लालबहादुर चौधरीले कुटपिट गर्न आदेश दिएको पूजा बनाउँछिन्। “भलमन्साले बोक्सी हो, कुट भन्यो, त्यसपछि कुटपिट गर्न थाले। गाउँका मान्छे हेरेर बसिरहे,” पूजा सुनाउँछिन्।

कुटपिट गर्नेलाई कारबाही हुनुपर्ने र आफूलाई गाउँमा बस्ने व्यवस्था गरिदिनुपर्ने उनको माग छ। उनीहरूलाई कारबाही नभएमा आफू गाउँमा बस्नै नसक्ने पूजा सुनाउँछिन्। “अब म त्यो समाजमा कसरी फर्कने? शरीरमा लागेको घाउ त निको होला, समाजले गरेको तिरस्कार कसरी निको हुन्छ,” उनी प्रश्न गर्छिन्।

कुटपिटमा संलग्न ६ जना विरुद्ध पूजाका परिवारजनले प्रहरीमा किटानी जाहेरी दिएका छन्। उनीहरूमध्ये चार जनालाई पक्राउ गरिसकिएको र दुई जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले बताए।

कुटपिटमा संलग्न रहेको आरोपमा लाहनु चौधरी, मनोज चौधरी, रूपा चौधरी र बाबुराम चौधरी पक्राउ परेका छन्। किटानी जाहेरी परेका जयराम चौधरी र करन चौधरीको खोजी भइरहेको एसपी विष्टको भनाइ छ।

त्यस्तै, बोक्सी भनेर कुटपिट गर्न आदेश दिने भलमन्सालाई पनि कारबाही गरिने प्रहरीको भनाइ छ। भलमन्सा लालबहादुर चौधरीले कुटपिट गर्न आदेश दिएको पीडितको भनाइ छ।

कारबाही नहुँदा कुटपिट

बोक्सीको आरोपमा कुटपिट गर्नेलाई कारबाही नहुँदा यस्तो घटना दोहोरिने गरेको पाइएको छ। यसअघि कात्तिक २२ मा कैलालीको टीकापुर नगरपालिकाकी ४३ वर्षीया महिलालाई पनि बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको थियो। घाँटी थिचेर मार्न खोजिएको उनी सुनाउँछिन्।

पीडितले कुटपिट गर्ने विरुद्ध इलाका प्रहरी कार्यालय, टीकापुरमा किटानी जाहेरी दिएकी थिइन्। “प्रहरीले कुटपिट गर्नेलाई केही दिन हिरासतमा राखेर छोडिदियो,” उनी भन्छिन्।

कारबाही नहुँदा यस्ता घटना दोहोरिने गरेको अधिकारकर्मी बताउँछन्। हानिकारक परम्परागत अभ्यासको आडमा महिला तथा बालिकामाथि हुने हिंसाका घटनाको अभिलेख राखेको ओरेक नेपाल, कैलालीकी प्रमुख गीता चौधरी दोषीलाई कारबाही गर्नुपर्ने बताउँछिन्। “कारबाही नहुँदासम्म यस्ता घटना भइरहन्छन्,” उनी भन्छिन्।

ओरेक नेपालको तथ्यांक अनुसार गएको एक वर्षमा ११ जनालाई बोक्सीको आरोपमा शारीरिक तथा मानसिक यातना दिइएको छ। त्यस्तै, हानिकारक परम्परागत अभ्यासको आडमा ९३ जना महिला तथा किशोरीमाथि हिंसा भएको तथ्यांक छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार गत आर्थिक वर्षमा २३ जनालाई बोक्सीको आरोपमा हिंसा भएको थियो।

नेपालको संविधानको धारा ३८ (३)मा महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गर्न नहुने व्यवस्था छ।

यस्तो कार्य कानून बमोजिम दण्डनीय मानिएको छ। यसमा संलग्नलाई कैद सजायको व्यवस्था गरिएको छ। बोक्सीको आरोप, कसूर र सजाय ऐन, २०७२ को दफा ११ को उपदफा (ङ)मा पाँचदेखि आठ वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ।

(पीडितको नाम परिवर्तन गरिएको छ।)

अन्तिम अध्यावधिक: ९ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस