देशका धेरै ठाउँमा आज मौसम आंशिक बदली छ । बाग्मती, गण्डकी र कोशी प्रदेशमा आज आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहाडी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना छ भने तराईमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बद्ली रही एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।
आज बिहान तराई तथा काठमाण्डौका केही ठाँउमा हुस्सु तथा कुहिरो लागेको थियो । काठमाण्डौको न्यूनतम तापक्रम हिजोको तुलनामा आज बढेर बिहान ७ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ ।
हिजो काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस थियो । गएको आइतवार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट शुरु भएको मौसम बदलीले हिजो देशका धेरै जसो ठाउँमा प्रभाव पारेको थियो ।
हिजो बेलुका काठमाण्डौ उपत्यका, डडेलधुरा, दिपायललगायत केही ठाउँमा सामान्य हिउँदे वर्षा भएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र कतैकतै हल्का वर्षा भएको छ ।
मौसमविद् अर्यालका अनुसार आज मौसममा क्रमिक सुधार भए पनि पर्सि शुक्रवार रातिदेखि फेरि अर्को प्रणाली आउने सम्भावना देखिएको छ ।
यो प्रणालीले पश्चिम नेपालमा धेरै प्रभाव पर्ने भए पनि काठमाण्डौ उपत्यकासम्म नै वर्षा गराउने मौसमविद्ले बताएका छन् ।