विवाह गरेपछि यौन जीवन सुखमय छ भने दम्पतीको सम्बन्ध अझ प्रगाढ हुन्छ । तर यौन जीवन नराम्रो भएमा दम्पतीबीच दूरी बढ्न सक्छ । यौन जीवन बिग्रिनु भनेको दम्पतीमध्ये एकजनामा यौन चाहना नहुनु वा यौन चाहना भएपनि गतिविधिमा सन्तुष्ट नहुनु वा सो क्रममा पीडादायी हुनु हो । तर यो समस्या त्यत्तिकै हुँदैन ।
यसो हुनुको पछाडि मानसिक वा शारीरिक स्वास्थ्य समस्या पनि हुनसक्छ । जो बेलैमा पहिचान नहुँदा समस्या थप जटिल बन्दै जान्छ । यौन जीवनमा दखल पुर्याउने प्रमुख कारणमध्ये एक हो, थाइराइड ।
सबैभन्दा पहिला थाइराइड के हो बुझौं ।
थाइराइड घाँटीमा पुतली आकारको एक ग्रन्थी हो । यो ग्रन्थीले हर्मोन बनाउँछ । सो हर्मोनले शरीर स्वस्थ र चलायमान राख्ने सबै प्रक्रियाको गतिलाई नियन्त्रण गर्छ । यदि यो ग्रन्थीमा हर्मोनको अनियमितता बढेमा थाइराइडको समस्या भएको बुझिन्छ । हर्मोन बढी भएमा हाइपर थाइराइडडिजम र हर्मोन कम हुनुलाई हाइपोथाइराइड भन्ने गरिन्छ । यी दुईको अवस्था शरीरमा देखिनु स्वास्थ्यको हिसाबले ठीक होइन ।
थाइराइडले कसरी यौन जीवन प्रभावित पार्छ ?
यौन सम्बन्ध राख्ने क्रममा महिला उत्तेजित हुँदा प्राकृतिक रुपमा चिल्लोपन (लुब्रिकेन्ट) उत्पादन हुन्छ । सो चिल्लोपनले लिङ्गको घर्षणलाई सहज बनाउँछ । जसकारण यौन सम्बन्ध राख्न सहज हुन्छ । दुखाइ अनुभव हुँदैन । तर थाइराइड हुने महिलाको योनीमा सो चिल्लोपन कम उत्पादन हुन्छ । चिल्लोपन कम भएमा यौन सम्बन्ध राख्दा महिलालाई पीडादायी महसुस हुनसक्छ । प्रत्येक पटकको सम्भोग दुखाइपूर्ण भएमा महिलामा यौन इच्छा पनि कम हुँदै जान्छ ।
थाइराइडले योनीमा चिल्लोपन कम मात्र गर्दैन । यसले टेस्टोस्टेरोनको मात्रा पनि कम गरिदिन्छ । जबकि टेस्टोस्टेरोन हर्मोनको मात्रा सन्तुलित रहन यौन जीवनको लागि महत्वपूर्ण छ । यो समस्या थाइराइड भएका पुरुषमा पनि हुनसक्छ । कम टेस्टोस्टेरोन हर्मोनको मात्रा कम भएमा वा उत्पादन नै नभएमा यौन इच्छा नै कम हुन्छ ।
पुरुषमा यौन इच्छाको कमी मात्र होइन, शीघ्र पतनको समस्या पनि हुन्छ । हाइपोथाइराइड भएमा ढिला वीर्य स्खलन हुने र हाइपरथाइराइड भएमा छिटो शीघ्रपतनको समस्या हुन्छ । यी दुवै अवस्थाले यौन जीवनमा दखल पार्छ । शीघ्र पतनले यौन आनन्द लिन दम्पती सक्षम हुँदैनन् भने घण्टौंसम्म वीर्य स्खलन नभएमा यौन जीवन पट्यारलाग्दो हुन्छ । थाइराइडको समस्याले पुरुषमा यौन दुर्बलताको समस्या हुन्छ ।
थाइराइड हर्मोनले नाइट्रिक अक्साइडको स्तरलाई नियन्त्रण गर्छ, जुन रक्तसञ्चारका लागि महत्त्वपूर्ण हुन्छ । थाइराइडले रक्तसञ्चार कमजोर गराई पुरुषको लिङ्गमा कडापन महसुस हुँदैन । यदि पुरुषमा यो समस्या भएमा सम्भोग गर्न सम्भव हुँदैन । यसले पुरुषमा आत्मविश्वासको कमी हुन्छ ।
थाइराइड भएका महिला र पुरुष दुवैमा साझा रुपमा देखिने अर्को समस्या हो, थकान । थकानका कारण सामान्य गतिविधि गर्न पनि ऊर्जा हुँदैन । यस्तोमा सम्भोगका लागि पनि मेहनत आवश्यक पर्छ । थाइराइडका कारण थकान महसुस भइरहेमा यौन क्रिया पनि चाहेको जति हुन पाउँदैन ।
समाधान के छ ?
थाइराइडको समस्या भएको शङ्का लागेमा समयमै थाइराइड परीक्षण गरेर चिकित्सकको सल्लाह लिनु आवश्यक छ । यदि यौन जीवन प्रभावित भएमा लुकाएर राख्ने होइन, चिकित्सकलाई खुलेर भन्नुपर्छ । चिकित्सकले यौन जीवनलाई पनि सहज पार्ने र थायराइड नियन्त्रणमा ल्याउने खालको परामर्श दिन्छन् ।
थाइराइड हर्मोनको सन्तुलन मिलाउन नियमित औषधि सेवन गर्ने, स्वस्थ खाना, व्यायाम र तनाव व्यवस्थापन गर्नाले थाइराइडले गर्ने असरलाई कम गर्न मद्दत गर्छ । जसले गर्दा यौन जीवनमा पार्ने असर पनि कम हुँदै जान्छ । अनलाइनखबरबाट