मीरा श्रेष्ठ / बेलाैरी, कञ्चनपुर -
कञ्चनपुरको बेलौरी नगरपालिकामा ‛नेवाः देय् दबू’समुदायको नगर स्तरीय अधिवेशन सम्पन्न भएको छ।
निवर्तमान अध्यक्ष अशोक श्रेष्ठको सभाध्यक्षतामा उक्त अधिवेशन सम्पन्न भएको हाे । अधिवेशनले सात सदस्यीय नयाँ कार्य समिती चयन गरेको पत्रकार केशव भट्टले बताए ।
पत्रकार भट्टका अनुसार अध्यक्षमा सुरज श्रेष्ठ, उपाध्यक्ष सन्तोष श्रेष्ठ, सचिवमा डम्बर बहादुर श्रेष्ठ र कोषाध्यक्षमा एलोना श्रेष्ठ रहेका छन् । भने, समितीकाे सदस्यमा शेर बहादुर श्रेष्ठ, हिमाल श्रेष्ठ र राम माया श्रेष्ठलाई चयन गरिएको छ ।,
नवगठित समितीलाई बधाई तथा शुभकामना दिदैं बेलौरी नगरपालिका वडा नं ७ का अध्यक्ष एवम्‘नेवाः देय् दबू’ जिल्ला अध्यक्ष प्रकाश श्रेष्ठले समितीबाट नेवाः समुदायको उत्थान हुने विश्वास व्यक्त गरेका छन् ।
त्यस्तै केन्द्रीय समितीको तर्फबाट पुनम श्रेष्ठले नगर समिति बलियो हुनसके मात्रै नगर अन्तर्गत भएका गुठीहरुको प्रभावकारी कार्यसञ्चालन हुने बताइन् ।
कार्यक्रममा बोल्दै सभाध्यक्ष श्रेष्ठले
“मेरो कार्यकाल अनुभवले भरिएको समीक्षा गर्दछु र अबको नव युवाहरुले भरिएको नवकार्य समितीलाई आफ्नो समुदायको रितिथितीको जगेर्ना गर्ने भरपुर समय दिएर अगाडि बढाउनु हुनेछ भन्ने विश्वास राखेको छु उनलेे भने, - त्यसका लागि हामी सबैको साथ सहयोग रहने छ ।”
यसैबीच भीमसेन देव गुठीका कोषाध्यक्ष गजेन्द्र श्रेष्ठले नगरमा रहेका गुठीहरुको समायोजन गर्नुपर्ने कुरामा जोड दिएका छन् । उनले ‟हाम्रो नेवाः संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्ने भनेकै हामीले हो, त्यसैले हामी सबै नेवारहरु एकजुट भई गुठी समायोजन गर्नुपर्ने बताए । श्रेष्ठलेे भने आपसी हातेमालोमा नेवा समुदायको संस्कृतिको विकास गर्नुपर्छ ।”
उनको भनाइलाई समर्थन गर्दे नेवाः देय् दबू का जिल्ला सदस्य अर्जुन श्रेष्ठले थपे, ‟गुठीको व्यवस्थापनको लागि सबैभन्दा पहिला त कोषको व्यवस्थापन गर्नुपर्छ । त्यसैले विगतमा गरिएका आर्थिक कारोबारहरु पारदर्शी प्रस्तुत गरौँ र अगाडि बढौँ ।”
समितीका अध्यक्ष सुरज श्रेष्ठले आफूहरुलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा धन्यवाद व्यक्त गर्दै सम्पूर्ण नेवाः सदस्यले समितीमा अपनत्व जनाउने, आवश्यक राय तथा सुझाव दिएर समग्र नेवाः समुदायको हकहित अनुरुप कार्यहरु गरिने प्रतिबद्धता जनाएका छन् । ,
महाकाली बहुमुखी क्याम्पसका सहायक प्राध्यापक समेत रहेका श्रेष्ठ समाज रुपान्तरणमा चासो राख्ने बेलाैरीका एक प्रतिष्ठित युवा हुन् ।