उपचार नपाएर बाटोमै शिशुसहित सुत्केरीको मृ*त्यु

होमपेज / घटना / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २३ पुष २०८१ (२ हप्ता अघि)
  • ६७३

बझाङ -

बझाङमा एक सुत्केरी महिला र शिशुको उपचार नपाएरै मृत्यु भएको छ । जिल्लाको केदारस्यु गाउँपालिका –१ डुडिलकी ३१ वर्षीया खिना बोहराको बीच बाटोमै बच्चा जन्माउँदा मृत्यु भएको हो ।

बच्चा जन्माउँदा अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बहादुर बोहराले जनाए ।

‘व्यथाले च्यापेर निकै समस्या भएपछि अस्पतालका लागि लगिएको रहेछ ’ उनले भने ‘अस्पताल पुग्न नपाउँदै बच्चा जन्मियो । उपचार नपाएर आमा र शिशु दुवैको मृत्यु भयो ।’

उनका श्रीमान् उमेश बोहरा भारत छन् । घरमा सासू ससुरासँग रहेकी खिनालाई हिजो साँझबाटै व्यथा सुरु भएको परिवार स्रोतकाे भनाइ छ।

बिहान करिब ३ बजे समस्या बढ्दै गएपछि सासू ससुराले उनलाई नजिकैको रायल प्राथमिक स्वास्थ्य चौकी देउराको लागि हिँडाएका थिए । निकै समस्या हुँदा पनि उनलाई हिँडाएरै अस्पताल पुराउने प्रयास गरिएको थियो ।

स्राेतले भन्यो त्यसको करिब डेढ घण्टापछि उनले बाटामा नै बच्चा जन्माएकी थिइन् । बाटो मै शिशुको जन्म भएपछि उनका अभिभावकहरूले जनप्रतिनिधि पदम प्रसाद भट्टलाई सम्पर्क गरेका थिए ।

वडा सदस्य भट्टले रायल प्राथमिक स्वास्थ्य चौकीका अहेब कमल कुमार मल्ललाई घटनाबारे जानकारी गराएपछि त्यहाँ एम्बुलेन्स, उपचार सामाग्री सहित टोली पुगेको थियो ।

तर, त्यो बेलासम्म आमा र शिशुको अवस्था निकै गम्भीर भइसकेको अहेब मल्लले जानकारी दिए ।

‘हामी पुग्दासम्म उहाँको अवस्था गम्भीर भइसकेको थियो तर पनि बचाउन सकिन्छ कि भनेर प्रयास गरेका थियौँ ’ उनले भने ‘ निकै प्रयास गर्दा पनि आमा छोरा दुबैलाई बचाउन सकेनौँ । समयमा अस्पताल पुराउन नसक्दा आमा र शिशु दुवैको मृत्यु भएको उनको भनाइ छ ।,

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा प्रत्येक वर्ष उपचार नपाएर यसरी सुत्केरी आमा र बच्चाको मृत्यु हुने गरेको छ ।

अन्तिम अध्यावधिक: २३ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस