थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण पुस २८ गते आइतबारदेखि मंगलबारसम्म आयोजना हुने भएको छ । कथानक, छोटा र वृत्तचित्रसहितका २० फिल्म महोत्सवमा स्क्रिनिङ हुनेछन् ।
थाहा कला केन्द्रले मकवानपुरको थाहा नगरपालिकास्थित बज्रबाराहीमा फेस्टिभल गर्न लागेको हो । महोत्सवमा ‘पखेटा’, ‘टुल्की’, ‘बाटो’, ‘लाखे’, ‘सतिदेवी’, ‘मोदिवेनी’ लगायतका फिचर फिल्म देखाइनेछ ।
छोटा फिल्मतर्फ ‘बेली’, ‘अन्तवार्ता’, ‘द रोप अफ होप’, ‘निर्देश’, ‘दुई सय रुपैयाँ’, ‘खिल’ लगायत छन् । डकुमेन्ट्रीतर्फ ‘हिउँ चितुवा’, ‘गर्ल्स रिराइटिङ डेस्टिनी’ लगायत छन् । महोत्सवमा फिल्म प्रदर्शनीसँगै ‘फिल्म समीक्षा’ र ‘नेपाली सिनेमाको विविधता’जस्ता समसामयिक विषयमाथि छलफल हुँदैछ ।
पर्यटकीय गन्तव्यका रूपमा परिचित र सांस्कृतिक रूपमा पनि धनी थाहा नगरपालिका फिल्म छायांकनका लागि रोजाइमा पर्ने थलो हो । ‘पर्यटनका लागि चलचित्र’ नारासहित आयोजना हुँदै आएको महोत्सवले फिल्ममार्फत आन्तरिक पर्यटनलाई जोड्ने लक्ष्यसमेत लिएको छ ।
महोत्सव संयोजक प्रमोदकृष्ण जोशी भन्छन्, ‘काठमाडौँ र हेटौंडाजस्ता सहरको नजिकै रहेर पनि थाहा नगरपालिकामा हालसम्म कुनै सिनेमा हल सञ्चालनमा छैन । त्यसकारण सहजै सिनेमा हेर्न नपाउने यहाँका दर्शकलाई लक्षित गरी यो महोत्सव आयोजना गरिएको हो’ उनी भन्छन्, ‘फिल्म हेर्ने बहानामा आन्तरिक पर्यटन पनि फस्टाओस् भन्ने हाम्रो उद्देश्य हो ।