बेलाैरीमा माघ मेला शुरु, पूर्वमन्त्री मगरद्वारा उद्घाटन

होमपेज / मनोरंजन / समाचार / समाज /
  • दिनेश चौधरी
  • २६ पुष २०८१ (२ हप्ता अघि)
  • २३९

बेलाैरी, कञ्चनपुर

कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा माघ मेला शुरु भएको छ । पश्चिम नेपालका थारु समुदायको लोक संस्कृति संरक्षणका लागि कञ्चनपुरको बेलौरीमा माघ मेला शुरु भएको हो ।

आधुनिकता संगै लोभ भईरहेको संस्कृति संरक्षण प्रर्बद्धन, जर्गेना गर्नका लागि नयाँ पुस्तालाई जानकारी गराउन बेलौरी नगर भलमन्सा समितिको आयोजनामा शुक्रबारदेखि माघ मेला शुरु भएको हाे । 

पूर्व खानेपानीमन्त्री एवम् नेकपा माओवादी केन्द्रकी नेतृ बिना मगरले मेला उद्घाटन गर्दै थारु समुदाय सुदूरपश्चिमकाे कला र संस्कृतिका गहना भएको बताइन् ।

उनलेे थारु समुदायको संस्कृति नेपालकै पहिचान भएकाले संरक्षणमा जोड दिनुपर्ने धारणा समेत व्यक्त गरिन् । 

सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह विष्टले पनि थारु समुदायको कला संस्कृति संरक्षण अपरिहार्य रहेको बताए । उनलेे थारु समुदायलाई माघी मिलनकाे शुभकामना व्यक्त गरेका छन् ।

बेलौरी नगरका मेयर पोतीलाल चौधरीले थारु समुदायको कला संस्कृति संरक्षणका लागि स्थानीय सरकारले भलमन्सा ऐन नै पारित गरेको बताए । 

उनले संस्कृति पुस्तान्तरण गर्नका लागि नगर भलमन्सा समितिले बेलौरी नगरपालिकाको प्रर्बद्धनमा माघ मेला सञ्चालन गरेकाे बताउँदै सबैलाई शुभकामना व्यक्त गरे ।

तराई सहित देशका २२ जिल्लाहरुमा बसोबास गर्दै आएका थारु समुदायको लोक संस्कृति र परम्परा लोप भईरहेको अवस्थामा संस्कृति संरक्षणका लागि तीन दिने मेला आयोजना गर्न लागिएको आयोजक एवम् बेलाैरी नगर भलमन्सा समिति अध्यक्ष अमरसिंह चाैधरीले बताए । 

बेलौरी ५ सुदर्शनपुरका भलामन्सा एवम् मेला प्रचारप्रसार समिति संयोजक कृष्ण गम्वा(चौधरी)ले कला संस्कृति र पहिचान संरक्षणका लागि विगतका वर्षझै यसपटक पनि माघ मेला शुरु गरेको बताए ।

०७८ सालमा बेलौरी नगरपालिकाले भलमन्सा ऐन पारित गरेको उत्सवमा थारु समुदायको लोक संस्कृति, परम्परा संरक्षण प्रर्बद्धन एवम् पहिचानका लागि मेला संचालन गरिएको आयोजककाे कथन छ ।

मेलामा ३०  स्टल रहेका छन् भने थारु समुदायकै लोक परम्परागत खाने परिकार, कला, धर्म, संस्कृति र साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएका छन् ।

उद्घाटनकै अवसरमा बेलौरी नगरका प्रद्याध्यापक, डाक्टर, ०७४ देखि ०७९ सम्म निर्वाचित आदिवासी जनजाती थारु समुदायका जनप्रतिनिधीलाई सम्मान गरिएको नगर भलमन्सा अमरसिंह चाैधरीले बताए ।

मेलामा विभिन्न गाँउबस्तीका थारु समुदायको लोक संस्कृतिक झल्किने नृत्य, झाँकी, स्थानीय एवम् राष्ट्रिय कलाकारबाट थारु समुदायको संस्कृतिक प्रर्बद्धनका क्षेत्रमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए । माघ मेला यहीँ पाैष २८ गतेसम्म सञ्चालन हुनेछ ।

 

अन्तिम अध्यावधिक: २६ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस