प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी शुरुवात गरेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई सात विकेटल हरायो ।
गण्डकीले दिएको ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले नौ ओभर पाँच बलमा तीन विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका लागि रेवती धामीले अविजित २१ रन बनाइन् । गण्डकीका आकृती तिवारी र अपेक्षा बुढाथोकीले समान एक विकेट लिए ।
खराब मौसमका कारण १५ ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङ गरेको गण्डकीले सात विकेट गुमाएर ५५ रन बनाएको थियो । गण्डकीका लागि सबैभन्दा धेरै रेखा तापाङले १३ र कप्तान सिर्जना पौडेलले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् । सुदूरपश्चिमकी रेवती धामीले चार विकेट लिइन् । यस्तै जानकी थापा र रितु कनौजियाले समान एक विकेट लिए ।
यो जीतसँगै सुदूरपश्चिम दुई अङ्क जोड्न सफल भएको छ । प्रतियोगितामा आजै विभागीय टोली आर्मी र कर्णाली प्रदेशले खेल्दैछन् । प्रतियोगितामा सात वटा प्रदेश तथा दुई विभागीय टोली एपीएफ र आर्मी सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै सशस्त्र प्रहरी बलको एपीएफ क्लब रहेका छन् । समूह ‘बी’ मा कोशी, बाग्मती र मधेश प्रदेशका साथै त्रिभुवन आर्मी क्लब रहेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्को कार्ययोजना, नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता गरिएको हो । प्रतियोगिता यही माघ १२ गतेसम्म चल्नेछ । प्रतियोगितामा पहिलो हुनेले पाँच लाख र दोस्रो हुने टोलीले तीन लाख रुपैयाँ पुरस्कार पाउने छन् ।