बच्चाको उमेर अनुसार किन बढ्दैन उचाइ र तौल ?

होमपेज / मुख्य समाचार / स्वास्थ्य/शिक्षा /
  • रेडियो सुदूर सञ्चार
  • २ माघ २०८१ (१ हप्ता अघि)
  • १०३

बच्चा स्वस्थ रहेको सूचक हो, उमेर अनुसारको निश्चित तौल र उचाइ हुनु । किनकि बच्चा अस्वस्थ भइरहेमा तौल र उचाइ सन्तुलित हुँदैन ।

सन्तुलित नहुनुमा खानपान, वंशानुगत समस्या, कुनै स्वास्थ्य समस्या हुनु र प्रतिरोध क्षमता कमजोर हुने मुख्य कारण हुन् । बच्चा अस्वस्थ हुँदा तौल उमेर अनुसारको नबढ्ने, चाहिनेभन्दा बढी मोटोपन बढ्ने हुन सक्छ ।

त्यसैले, बच्चा पटक–पटक बिरामी हुने, उमेर अनुसारको बौद्धिक क्षमता कमजोर छ भने कतै उमेर अनुसारको तौल र उचाइ छ कि छैन हेक्का राख्नुपर्छ ।

वंशानुुगत कारण

बनावटले पनि बच्चाको उचाइ र तौलमा प्रभाव पार्छ । बुबाआमाको दुवैतर्फको तीन पुस्ताको औसत उचाइले पनि सन्तानको उचाइ सोही अनुसारको हुन सक्छ । उनीहरुको कम उचाइ छ भने सन्तानमा पनि कम उचाइको हुनसक्छन् ।

त्यस्तै, बढी उचाइका छन् भने सन्तानको पनि बढी उचाइ हुने हुन्छ । यसलाई अस्वस्थ भन्न मिल्दैन ।

पोषणको अभाव

सन्तुलित आहारको अभावले बालबालिकाको शारीरिक विकासमा ठूलो असर पार्छ । बच्चाले आवश्यक प्रोटिन, भिटामिन, खनिज र क्यालोरी पर्याप्त मात्रामा प्राप्त नगरेको खण्डमा तौल कम हुन सक्छ । कुपोषणले पनि बच्चा होचो, पुड्को हुनसक्छन् ।

हर्मोनल असन्तुलन

थाइरोइड हर्मोनको कमी वा अन्य हर्मोनल समस्या बालबालिकाको तौल र उचाइ दुवैमा असर पार्न सक्छ । हर्मोनल असन्तुलन हुँदा बच्चाको विकास सुस्त हुन सक्छ ।

स्वास्थ्य समस्या

केही बालबालिकामा पाचन सम्बन्धी समस्या, कुपोषणका कारण हुने रोग, कुनै अन्य दीर्घ रोग जस्तै मुटुमा प्वाल हुँदा पनि बच्चाको तौल नबढ्ने हुन सक्छ । उनीहरुमा पटक—पटक निमोनिया हुने मात्र नभई मुटुमा बाधा पर्ने गर्छ ।

पोषण चाहिने बेलामा झन् खान नसक्ने भएर तौल नबढ्ने हुनसक्छ ।

एक वर्षदेखि १० वर्षको उमेरमा कति हुनुपर्छ तौल ? चिकित्सा विज्ञानले लेखाजोखा गरेको छ ।

–नवजात शिशुको जन्मिँदा साढे ३ केजीको तौललाई स्वस्थ भएको मानिन्छ । जसमा छोरा शिशुमा ३/३ र छोरी शिशुमा ३/२ किलोग्राम हुनुपर्छ ।

–एक वर्षमा बच्चाको तौल ९.२ किलो ग्राम र उचाइ २९.२ इन्चको सेरोफेरोमा हुनु स्वस्थ मानिन्छ ।

–दुई वर्षमा बच्चाको तौल १२ किलो हुनुपर्ने र लगभग उचाइ ३३.५ इन्च हुनुपर्ने हुन्छ ।

–तीन वर्षमा १४.२ किलो ग्राम हुनुपर्छ । जसको औसत उचाइ ३७ इन्च हुनु उपयुक्त मानिन्छ ।

–चार वर्षमा वजन १५.४ किलो ग्राम, उचाइ ३९.५ इन्च पाँच वर्षमा १७.९ किलोग्राम हुनुपर्छ । जसको लगभग उचाइ ४२.५ इन्च हुनुपर्छ ।

– छ वर्षमा १९.९ किलोग्राम हुनुपर्छ । लगभग उचाइ ४५.५ इन्च, सात वर्षमा २२.४ किलोग्राम र उचाइ लगभग ४७.७ इन्च निर्धारण गरिएको छ ।

–आठ वर्षका बालबालिकाको २५.८ तौल हुनुपर्छ भने उचाइ ५०.५ इन्च हुनुपर्छ ।

–नौं वर्षका बालबालिकाको तौल २८.१ किलो भएको स्वस्थ मानिन्छ भने उचाइ ५२.५ इन्च हुनुपर्छ ।

–दश वर्षमा ३१.९ किलोग्राम उत्तम मानिन्छ भने लगभग उनीहरुको उचाइ ५४.५ इन्च भएको राम्रो मानिन्छ ।

नोट  – व्यक्ति अनुसारको शरीरको प्रकृति फरक फरक हुन्छ । त्यसैले, कहिलेकाहीं माथि उल्लेखित भएजस्तै ठ्याक्कै उचाई र तौल नमिल्न सक्छ ।  यो मात्र औसत  अंकगणित हो । उल्लेखित अंकभन्दा थोरै तलमाथि भएमा केही फरक पर्दैन ।  धेरै तलमाथि आएमा बाल रोग विशेषज्ञसँग परामर्श लिनु उचित हुन्छ ।

 बच्चाको उमेर अनुसार उचाई र तौल सन्तुलित राख्न के गर्ने ?

—बच्चाको तौल बेलाबखतमा नाप्नुपर्छ । उमेर अनुसारको तौल र उचाइ छैन भने चिकित्सकीय परामर्श लिनुपर्छ । कुनै समस्या भएमा डाक्टरले थाइरोइड, पाचन वा अन्य हर्मोनल परीक्षण गर्न सल्लाह दिन सक्छन् ।

—बच्चाको तौल बढ्नको लागि धैर्य पनि आवश्यक हुन्छ । हरेक बच्चाको विकास दर फरक हुने भएकाले अभिभावकले यस्ता कुरामा धेरै चिन्ता लिनुपर्दैन ।

—  बालबालिकाहरु जंक फुड र फास्टफुड बढी रोजाइमा पर्छ जसले पनि बालबालिकाको स्वास्थ्यमा असर पार्ने देखिन्छ ।

—उमेर अनुसार तौल र उचाइ बढाउनका लागि बालबालिकाको डाइट चार्ट सबैभन्दा महत्वपूर्ण हुन्छ । राम्रो आहार विना बच्चाहरू बढ्न सक्दैनन् ।

— बालबालिकालाई सुरुमा खानाको रूपमा मिनरल, प्रोटिन, भिटामिन, फाइबरयुक्त पौष्टिक तत्व खुवाइने हो भने शारीरिक विकाससँगै बालबालिकाको मानसिक विकास हुन्छ ।

यी पोषण तत्व कस्तो खानेकुरामा पाइन्छ ?

फलफूल

बालबालिकालाई खानामा सुरुदेखि नै फलफूल खुवाउनुपर्ने हुन्छ । बालबालिकाको डाइट चार्टमा फलफूललाई खाजाको रूपमा समावेश गर्न सकिन्छ ।

फलफूलमा भिटामिन, प्रोटिन, म्याग्नेसियम, क्यालसियम पाइन्छ । जसले शरीरको वृद्धिमा धेरै मद्दत गर्छ । फलफूल खाँदा शरीरको लम्बाइ बढ्छ । यसको साथै त्यसमा भएको फाइबरले कब्जियत हुन दिंदैन।

मासु

दुई वर्षभन्दा माथिका बालबालिकाको आहारमा स्वस्थ मासु उपयुक्त हुन्छ । मासुमा प्रशस्त मात्रामा प्रोटिन हुन्छ । जसले शरीरलाई ऊर्जा दिनुका साथै धेरै रोगसँग लड्न मद्दत गर्छ । यसको सेवनले बालबालिकाको उचाइ बढ्छ ।

त्यस्तै, मासु नखाने बालबालिकाले तोफु, पनिर र भटमासको परिकारबाट पनि प्रोटिन प्राप्त गर्न सक्छन् ।

दाल

दालमा धेरै प्रकारका प्रोटिन र भिटामिन पाइन्छ । जुन बालबालिकाको शारीरिक विकासका साथै मानसिक विकासका लागि आवश्यक हुन्छ । दाल खुवाउने बानी बालबालिकामा सुरुदेखि नै लगाउनुपर्छ । यसबाट बच्चाको तौलसँगै उचाइ पनि बढ्छ।

६ महिना पछि बालबालिकालाई दालको सुप वा दालको पानी खुवाउनुपर्छ । दुई वर्षका बालबालिकालाई दाल खिचडी खुवाउन सकिन्छ । तीन वर्षभन्दा माथिका बालबालिकालाई खानामा भातसँगै दाल खुवाउने गर्नुपर्छ ।

अण्डा

अण्डामा प्रशस्त मात्रामा प्रोटिन पाइने गर्छ । यसले बालबालिकाको शरीरको वृद्धिसँगै मानसिक विकासमा पनि मद्दत गर्छ ।

हरियो सागसब्जी खाने बानी

बच्चाको शारीरिक वृद्धिका लागि हरियो तरकारीले निकै महत्वपूर्ण भूमिका खेल्ने गर्छ । जसले गर्दा शरीरलाई पर्याप्त मात्रामा पोषकतत्व प्राप्त हुन्छ । बालबालिकाले तरकारी खान नमान्ने,  धेरै रिसाउने गर्ने हुँदा विस्तारै मनाएर सानैदेखि तरकारी खाने बानी लगाउनुपर्छ ।

यसले गर्दा बच्चाको तौल बढ्नुका साथै लम्बाइ उमेर अनुसार बढ्न सहयोग पुग्छ । - डा अनु दनाई

अन्तिम अध्यावधिक: २ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस