भारतीय टेलिभिजन अभिनेता करणवीर मेहरा रियालिटी शो ‘बिग बोस-१८’ को विजेता बनेका छन् । विजेता बनेसँगै उनले सुनको ट्रफीसहित ५० लाख भारु नगद पाए । गत वर्ष पनि उनले अर्को शो ‘खतरों के खिलाडी-१४’ को उपाधि पनि जितेका थिए ।
करणवीरले भिभियन डिसेना, रजत दलाल, अविनाश मिश्र, ईशा सिंह र चुम दराङलाई पराजित गर्दै उपाधि हात पारेका हुन् । फिनालेमा सबैभन्दा पहिले इशा सिंह बाहिरिएकी थिइन् भने त्यसपछि कम मत पाएकी चुम दराङ बाहिरिइन् । अविनाश मिश्र बाहिरिएपछि भिभियन, करण र रजत दलाल टप ३ मा रहे ।
को हुन् विजेता करणवीर ?
दिल्लीमा जन्मेका करणवीर मेहराले टिभी शो, वेब सिरिज र फिल्ममा काम गरेका छन् । सन् २००५ मा उनले अभिनय करिअर सुरुवात गरेका हुन् ।
करणवीरको व्यक्तिगत जीवन उथलपुथलले भरिएको थियो । दुई पटक विवाह गरिसकेका करणवीर अहिले सिङ्गल छन् । सन् २००९ मा बाल्यकालकी प्रेमिका देविका मेहरासँग उनले विवाह गरेका थिए । तर सन् २०१८ मा दुवैको सम्बन्ध विच्छेद भयो । बम्बे टाइम्सलाई दिएको अन्तर्वार्तामा करणवीरले आफूले हतारमा विवाह गर्ने निर्णय गरेको बताए । पछि सम्बन्ध टिकेन ।
सन् २००६ मा उनी दुर्घटनामा परेका थिए । यही क्रममा उनी रक्सीको लतमा परे र डिप्रेसनमा समेत पुगे ।
उनले सन् २००५ मा चर्चित टिभी शो ’रिमिक्स’बाट अभिनय करिअर थाले । उक्त शोमा उनले आदित्यको भूमिका निर्वाह गरेका थिए । त्यसपछि उनी ‘साथ रहेगा सदैव’, ‘सती…सत्य की शक्ति’, ‘विरुद्ध’, ‘हम लडकियाँ’, ‘बेहेनीन’ र ‘पवित्र रिश्ता’ जस्ता टिभी शोमा देखिए । ‘पवित्र रिश्ता’ मा उनको नरेन करमरकरको भूमिकालाई दर्शकले निकै रुचाएका थिए ।
मिडिया रिपोर्टका अनुसार करणको कुल सम्पत्ति १२ करोड भारु छ । उनले बिग बोस–१८ को उपाधि जितेबापत ५० लाख भारु नगद पाएका छन् । यस बाहेक उनले शोमा आफ्नो प्रवेशबाट पनि राम्रो कमाइ गरेका छन् । रिपोर्टका अनुसार उनले बिग बोसको घरमा रहँदा हरेक हप्ता दुई लाख रुपैयाँ शुल्क लिने गरेका थिए ।