गर्भावस्थामा भिडियो एक्स-रे कहिले र किन ?

होमपेज / जीवनशैली / मनोरंजन /
  • रेडियो सुदूर सञ्चार
  • ८ माघ २०८१ (२ दिन अघि)
  • ३७४

गर्भवती भएपछि महिलाको स्वास्थ्य अवस्थाबारे थाहा पाउन विभिन्न जाँच गरिन्छ। सो परीक्षणले गर्भमा रहेको शिशुको स्वास्थ्य र विकासको बारेमा जानकारी दिनुको साथै यसबाट आमा र बच्चाको स्वास्थ्य अवस्था र सम्भावित जोखिमबारे आंकलन गर्न सकिन्छ।

१. पहिलो भिडियो एक्स-रे गर्भवती भएको थाहा हुने बित्तिकै गर्नुपर्दछ। यसबाट गर्भवती भएको यकिन हुनुका साथै गर्भ पाठेघर भित्र रहेको छ/छैन वा कहाँनेर रहेको छ भन्ने जानकारी पाइन्छ। कतिवटा बच्चा गर्भ रहेको छ र गर्भ रहेको कति समय भयो भन्ने समेत जानकारी पाउन सकिन्छ ।

२. पहिलो भिडियो एक्स-रे मा बच्चाको मुटुको धड्कन नदेखिएमा दुई हप्तापछि पुनः अर्को भिडियो एक्स-रे गरी मुटुको धड्कन आएको नआएको यकिन गर्नु पर्दछ । पहिलो भिडियो एक्स-रे मै पाठेघर भित्र रहेको बच्चाको मुटुको धड्कन देखिएमा र सबै कुरा सामान्य  रहेमा यो भिडियो एक्स-रे गर्न जरुरी छैन ।

३. गर्भवती महिलाले दोश्रो भिडियो एक्स-रे ११-१३ हप्तामा गर्नु पर्दछ । मिति तोकेरै भन्नु पर्दा यो भिडियो एक्स-रे ११ हप्ता ३ दिनदेखि १३ हप्ता ६ दिन सम्ममा गर्नुपर्दछ । यसमा नाकको हड्डी बनेको नबनेको हेर्नुका साथै गर्धनको पछाडि भागमा पानीको मोटाई हेरिन्छ । यो र यस पछिका भिडियो एक्स-रे हरुमा बिशेष परिस्थिती बाहेकलाई भिडियो एक्स-रे गर्नाका लागि पिशाव चेपेर बस्न पर्दैन र गर्भवती महिलाले भिडियो एक्स-रे गर्नका लागि खाना नखाइ बस्नु पर्दैन।

ढिलो विवाह गर्ने र आफ्नो वा श्रीमानको उमेर ढल्केपछि गर्भवतीहरुका लागि हुने महिलाहरुका लागि यो भिडियो एक्स-रे एकदमै महत्वपूर्ण हुन्छ। यो भिडियो एक्स-रे र दोहोर मार्कर परीक्षणलाई जोड्दा क्रोमोसोमल असमान्यताको स्थिती जस्तै डाउन सिन्ड्रोम भए नभएको समेत अनुमान गर्न सकिन्छ ।

यो समयमा डक्टस भेनोसस  नामको मुटुमा शुद्ध रगत लैजाने रक्तनलीमा रगतको बहाव हेरेर बच्चामा भएको क्रोमोसोमल असमान्यताको स्थिती, बच्चाको मुटुको गडबडी जस्तैः  पल्मोनरी एट्रेसिया,  बच्चामा हुन सक्ने ट्युमर आदिको बारेमा समेत जानकारी लिन सकिन्छ। साथै, मस्तिष्क स्टेम  र मस्तिष्क भाप, ओसीपिटल हड्डीको अनुपात  नापेर न्युरल ट्युब डिफेक्ट भए नभएको पनि अनुमान गर्न सकिन्छ । गर्भाशय धमनीको डपलरबाट गर्भवती महिलामा भविष्यमा हुन सक्ने जोखिमका बारेमा अनुमान लगाउन सकिन्छ, जस्तै : रक्तचाप बढ्नु । 

हाम्रो देश नेपालमा यो समयको भिडियो एक्स-रे लाई धेरै नजर अन्दाज गरेको पाइन्छ। पहिलो त्रैमासिक स्क्यानबाट बच्चाको मस्तिष्क  तथा मुटुमा भएका निको हुने तथा नहुने धेरै प्रकारका असमान्य स्थितीको पत्ता लगाउन सकिन्छ र निको नहुने समस्या भएका गर्भवती महिलाहरुलाई बेलैमा गर्भपतन गराएर पहिले नै काम नलाग्ने गर्भ बोकिरहने झन्झटबाट मुक्ती दिलाउन सकिन्छ। त्यसैले यो भिडियो एक्स-रे दक्ष रेडियोलोजिष्टबाट राम्रो मेशिनमा गराउन अति नै जरुरी छ । 

.अनोमल्ली स्क्यान :  अनोमल्ली स्क्यान  भनेको गर्भवती अवस्थामा गराउने सबैभन्दा महत्वपूर्ण भिडियो एक्स-रे हो । यसमा बच्चा बन्न पर्ने अंग प्रत्यागं बनेको नबनेको बिस्तृत रुपमा हेर्न सकिन्छ ।

.अनोमल्ली स्क्यान  पछिको भिडियो एक्स-रे कहिले गर्ने भन्ने कुरा बच्चा र आमाको अवस्थामा भर पर्दछ । ३० हप्ता पछिको समयमा स्त्री तथा प्रसुती रोग बिषेशज्ञको सल्लाह अनुसार भिडियो एक्स-रे गर्नु पर्ने हुन्छ । सामान्यतया ३२ हप्तादेखि ३६ हप्ता र ४० हप्तामा भिडियो एक्स-रे गराउन पर्दछ । यो समयमा गरिने भिडियो एक्स-रेबाट बच्चाको विकास र तौल आमाको पेटमा भएको पानीको मात्रा,  बच्चा उल्टो वा सुल्टो रहेको अवस्था, घाँटीमा नाल बेरिएको अवस्था, सालको अवस्था र सालले बच्चाको बाटो छेकेको अवस्था र बच्चामा भएको रक्त संचारको अवस्था आदीको बारेमा जानकारी लिन सकिन्छ। 

यी बाहेक गर्भवती अवस्थामा धेरै पेट दुखेमा, रक्तस्राव भएमा वा बच्चा चलेको आमालाई थाहा नभएमा स्त्री तथा प्रसुति रोगको सल्लाहमा अन्य कुनै पनि बेला भिडियो एक्स-रे गर्न पर्ने हुन्छ । - डा सरोजराज केसी, कन्सल्टेन्ट रेडियोलोजिस्ट

अन्तिम अध्यावधिक: ८ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस