नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पछिल्लो समय राजनीति कमाउ धन्दा हुन पुगेको बताएका छन् ।
मंगलबार गृह जिल्ला गोरखामा पत्रकार भेटघाट गर्दै उनले राज्यसत्ताको दोहन गर्ने र कमिसनको पैसाले कार्यकर्ता पाल्ने प्रवृत्ति हाबी भएको बताए ।
‘पछिल्लो समयमा नेपालको राजनीतिक प्रवृत्ति के भयो भने जसरी नि सत्तामा पुग्ने, राज्यसत्ताको दोहन गर्ने, ठेक्कापट्टा कमिसनखोरी गरेर पैसा जम्मा गर्ने अनि त्यसले कार्यकर्ता पाल्ने र चुनावी खर्च उठाउने,’ उनले भने, ‘राजनीति कमाउ धन्दा हुन पुग्यो, यो दुर्भाग्य कुरा हो ।’
पुराना ढंगको राजनीति, पुराना तरिकाका नेताहरूको शैली र नैतिक कमजोर धरातलले देश संकटतर्फ धकेलिएको भन्दै उनले यसलाई बचाउन विकल्प खोजी गर्नुपर्ने बताए ।
‘पुरानो राजनीतिक शक्ति र पुराना नेताहरू पालैपालो पटक-पटक सत्तामा बसिरहनुभएको छ, उहाँहरूको कुनै विश्वसनीयता पनि रहेन, देश बनाउने भिजन पनि छैन, त्यसैले जनताले विकल्प खोजिरहेका छन् । त्यसको निश्चित दिशा दिनुपर्छ भन्ने हो, म त्यसमा लागि परेको छु,’ भट्टराइले भने । सबै दल मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउनु नै उचित विकल्प रहेको उनको भनाइ छ ।
विचार र निष्ठाको दृढता नभएको व्यक्ति भन्दै उनले प्रचण्डको टिप्पणी समेत गरे । उनले भने, ‘प्रचण्ड नेपाली राजनीतिमा कुनै विचार, आस्था र निष्ठाको दृढता नभएको व्यक्ति हो । सिधै झुठ बोल्दिने, बोली परिवर्तन गरिदिने । पार्टीभित्र पनि सत्तामा हुनुपर्यो, राज्यको पनि सत्तामा भइराख्नुपर्यो, त्यसका निम्ति जे पनि गर्दिने ।’
प्रचण्डको उक्त स्वभाव पहिले देखि नै आफूलाई थाहा भएको र अहिले व्यवहारमा समेत देखिएको भट्टराइले बताए ।
२०८४ को निर्वाचनमा चुनावको सन्दर्भमा उनले आफू सत्तामुखी राजनीतिमा आस्था राख्ने मान्छे नभएको तर आवश्यकता अनुसार चुनाव लड्न पनि सक्ने धारणा व्यक्त गरे ।
‘राजनीतिमा रिटायर हुने भन्ने चाहिँ हुँदैन, व्यक्तिगत रूपमा मलाई सत्तामा जाने लोभ छैन, तर आवश्यकता अनुसार म चुनाव लड्न पनि तयार छु,’ उनले भने ।