गायिका एलिना चौहानले अनुभवबाट सिकेर नयाँ जिन्दगी सुरुवात गर्न चाहेको बताएकी छन् । काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटासँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेको भोलिपल्ट शनिबार सामाजिक संजालमा भिडियो शेयर गर्दै उनले आफ्ना धारणा राखेकी छन् ।
आफूहरू दुईजना र परिवराले सोचेरै सम्बन्धविच्छेद गर्ने निर्णय लिएको बताउँदै उनले राम्रोसँग कुरा गरेर छुटेको समेत उल्लेख गरेकी छन् । ‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुन्न । सात जुनीसम्म हुन्छ भनेर गरेको हुन्छ’ उनले भनेकी छन्, ‘बाबुआमाले पनि मुटु फुटाएर डिभोर्स होस् भन्ने चाहँदैनन् ।
यो निर्णय सोचेर लिएको हुँ । दुईजनाले सोचेर र परिवारबीच सल्लाह गरेर लिएको निर्णय हो । कतिपय कुरा इच्छाभन्दा पनि जरुरी भएर हुने रहेछ । मनमुटाव हुँदाहुँदै भोलि दुर्घटना भयो भने के गर्ने ?’ उनले भनेकी छन् ।
आफूहरू प्रेम सम्बन्धमा हुँदा पनि खटपट हुने गरेको बताउँदै विवाह हतारको निर्णय भएको बताइन् । ‘समय बित्ददै जाँदा सहन सकिन । उहाँका अपेक्षा मैले पुरा गर्न सकिन’ एलिनाले भनेकी छन् ।
‘आफूले माया गरेको मान्छेलाइ गाली गर्दा आफूले गाली खाएको भन्दा धेरै पीडा हुने रहेछ’ भन्छिन्, ‘मलाई यो समयमा साथ दिनूस तर उहाँलाई नराम्रो नभन्नुहोला । गाली नगर्नुहोला । मैले आफै जिन्दगी बिगारेको हो । उहाँले पनि म कलाकार हो भन्ने थाहा पाउँदा पाउँदै विवाह गर्नुभएको हो ।
अनुभवबाट सिकेर नयाँ जीवन सुरु गर्न चाहेको उनी बताउँछिन् । ‘कृपया सहयोग गर्न नसकेपनि बाधा नपार्दिनुहोला’ एलिनाले भनेकी छन्, ‘उहाँले पनि आफ्नो जिन्दगीको निर्णय लिने अधिकार छ ।
उनले आफ्नो निजी कुरालाई कमाइ खाने भाँडो नबनाउन आग्रह गरेकी छन् । ‘मेरो व्यक्तिगत कुरालाई कमाइ खाने भाँडो नबनाउनुहोला । मजाकको पात्र नबनाउनुहोला । आफ्नो चेली छोरीलाई सम्झनुहोला । यो कुरालाई इग्नोर गरेर अघि बढेको राम्रो हुन्छ । अरु मसँग केही बोल्न शब्द छैनन्’ उनले भनेकी छन् ।