नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी रहेको बताउनुभएको छ ।
उहाँले सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न ल्याइएको विधेयकको विरोध गर्न आवश्यक नरहेको बताउनुभयो । आइतबार गृहजिल्ला प्रेस चौतारी नेपाल लमजुङको आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुँदै सञ्चारमन्त्री गुरुङले सामाजिक सञ्जालबाट भइरहेको अराजकता रोक्न नियमन विधेयक ल्याइएको प्रष्ट पार्नुभयो ।
“प्रिन्ट मिडिया र ब्रोडकाष्टिङ मिडिया आफ्नो ठाउँमा मूल्य मान्यता अनुसार चलिरहेको छ । तर सामाजिक सञ्जाल त्यो अनुरुप चलेको छैन । त्यसको नियमन आजको चुनौती हो” उहाँले भन्नुभयो । नियमनका लागि सामाजिक सञ्जाल प्रयोग सञ्चालन तथा नियमन विधेयक ल्याएका हौं” विरोध गर्नुपर्ने कारण छैन ।”
“अराजकतावादले लोकतन्त्र बलियो हुन सक्दैन । उच्छृङ्खलवादले लोकतन्त्र बलियो हुँदैन” उहाँले भन्नुभयो, “समाजमा हिंसा फैलाउने कुरा, अफवाह फैलाउने कुरा, जातीय हिंसा फैलाउने कुराको नियन्त्रण हुन जरुरी छ । त्यसैले विधेयकप्रति कोही पनि अत्तालिनुपर्ने छैन ।” विधेयकको राम्रोसँग अध्ययन गरेर यसको पक्षमा सबै सरोकारवाला लाग्नुपर्ने उहाँले बताउनुभयो ।
मन्त्री गुरुङले सार्वजनिक सेवा प्रशारण ऐन बनाएर लागु गर्नु सञ्चार मन्त्रालयको ऐतिहासिक र युगीन काम भएको दावी गर्नुभयो । उहाँले दक्षिण एसियामा भारतपछि नेपालले यो काम गरेको बताउदै भन्नुभयो - “यो अध्यादेश पास भएपछि शासकीय प्रणालीमा सुधार हुन्छ । सुशासन कायम हुन्छ । उद्योग व्यवसाय र अर्थतन्त्रमा देखिएको समस्यामा समेत सुधार हुँदै जान्छ ।”