नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ।
देसाईको दुईवर्षे कार्यकाल सकिएपछि हिजो (शनिवार) साँझ उनीसँग सम्झौता नवीकरण नगर्ने भन्दै क्यानले विज्ञप्ति जारी गर्दै घोषणा गरेको थियो।
क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको उक्त विज्ञप्तिमा मोन्टीले २ वर्षमा नेपाली क्रिकेटलाई ठूलो सफलता दिलाएकोमा र उनले नेपाली क्रिकेटमा गरेको योगदान प्रति धन्यवाद दिएको थियो ।
क्यानले सम्झौता नवीकरण नगर्ने निर्णय गरेपछि प्रशिक्षक देसाईले सामाजिक सञ्जाल एक्स (ट्विटर)मार्फत नेपालीलाई धन्यवाद दिएका छन् ।
आइतवार विहान उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै भनेका छन्, ‘‘प्रिय नेपाल यो बिदाइ होइन, यो धन्यवाद हो।’’
उनले सन् २०२३ जनवरी १० मा क्यानले आफूलाई दिएको अवसरलाई नेपाली क्रिकेटमा स्थायी प्रभाव पार्ने तथा नयाँ कथा लेख्ने आशा र उद्देश्यसहित आफू् अज्ञात यात्रामा होमिएको पनि उल्लेख गरेका छन्।
देसाईले आफ्नो दुईवर्षे कार्यकाल अविस्मरणीय रहेको र ऐतिहासिक उपलब्धिले भरिएको क्षण सम्झना गर्दै कीर्तिपुरको त्रिवि मैदानमा नेपालले एशिया कप छनोट खेलको उल्लेख गरेका छन्।
जुन खेलमा नेपाली दर्शकहरु रुखमा चढेर र पानी पर्दा पनि छाता ओढेर नेपाल टोलीको समर्थन गरेको क्षण र मूलपानी मैदानमा नेपाल विश्वकपका लागि छनोट हुँदा दर्शकको भीडले दिएको ऊर्जा कहिल्यै नबिर्सिने क्षण रहेको पनि उल्लेख गरेका छन्।
नेपाली क्रिकेटको आरोह–अवरोहबिच क्यान व्यवस्थापन, खेलाडी, खेलाडी छनोट समिति, क्यान पदाधिकारी, प्रशिक्षक, स्कोरर, ग्राउन्डसम्यान, क्यामराम्यान, कमेन्टेटर साथै कप्तान रोहित पौडेलसँग आफूले नेपाली क्रिकेट विकासमा थोरै भए पनि भूमिका निर्वाह गर्न सकेकोमा सबैप्रति कृतज्ञता व्यक्त गरेका छन्।
देसाईले क्रिकेट समर्थक नेपाली क्रिकेटको सबैभन्दा बलियो पक्ष रहेको उल्लेख गर्दै नेपाली टोलीलाई यसैगरी निरन्तर समर्थन गरिरहन सबैसँग आग्रहसमेत गरेका छन्।
उनले नेपाल आफ्नालागि बिरानो नभएको बरु दोस्रो घर बनेको उल्लेख गर्दै नेपाल र नेपालीका लागि क्रिकेट केवल एउटा खेलमात्र नभएर एउटा राष्ट्रिय भावना भएको र यसले सिङ्गो राष्ट्रलाई एकताबद्ध बनाउने उल्लेख गर्दै जय नेपाल भन्दै सञ्जालमा बिट मारेका छन्।
देसाईको प्रशिक्षणमा नेपालले आईसीसी लिग–२ को पछिल्ला १२ खेलमा लगातार ११ जित निकाल्दै एकदिवसीय मान्यता जोगाएको थियो। त्योभन्दा बढी नेपाल १० वर्षपछि आईसीसी टी–२० विश्वकपमा छनोट हुँदै विश्वकप खेलेको थियो।
अमेरिका र वेष्ट इण्डिजमा भएको विश्वकपमा नेपाल समूह चरणबाट बाहिरिएको थियो। नेपाल एशिया कपमा छनोट हुन नसके पनि उनको प्रशिक्षणकाल नेपाली क्रिकेटका लागि उत्कृष्ट बन्यो।