चितवनको त्रिशूली नदीमा खसेर बेपत्ता भएका रोहित रानाको शव ९ दिनपछि फेला परेको छ । उनको शव नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ कालीखोला नजिकै फेला परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ मा मोटरसाइकल दुर्घटनामा परी त्रिशूलीमा खस्दा २७ वर्षीय राना फागुन २ गतेबाट बेपत्ता थिए । त्रिशूलीमा तैरिरहेको अवस्थामा उनको शव आज बिहान फेला परेको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक (इन्स्पेक्टर)निरला भण्डारीका अनुसार रानाको शव अहिले पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ ।
चितवनको भरतपुर महानगरपालिका-१ रामनगर घर भएका उनी बा ००६-०२ प ९२०४ नम्बरको मोटरसाइकलमा एक्लै काठमाडौंका लागि रामपुरबाट निस्किएका थिए । फागुन २ गते बिहान करिब १२ बजेको समयमा राना सवार मोटरसाइकल सडक छेवैको डिभाइडरमा ठोक्किँदा त्रिशूलीमा खसेका थिए । मोटरसाइकल भने सडकमै थियो । भारतीय सेनामा कार्यरत राना छुट्टीमा घर आएका बेला दुर्घटनामा परेका हुन ।