विश्वकप विजेता इटालियन गोलकिपर जियालुजी बुफोन आज नेपाल आएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कपको फाइनलमा प्रमुख अतिथिका रूपमा बुफोन दिउँसो नेपाल आएका हुन् । केपी ओली कपको फाइनल खेल भोलि दशरथ रङ्गशालामा हुँदैछ ।
बुफनले भिडीयोमार्फत् नेपाल आउन लागेको जानकारी गराएका थिए । उनले भिडियोमा नेपालीमै सम्बोधन गरेका थिए । सन् २००६ को फिफा विश्वकप जितेका बुफोनले कीर्तिमानी एक सय ७६ अन्तर्राष्ट्रिय क्याप जितेका छन् । सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर बुफोनले इटालीका लागि ८० खेलमा कप्तानी गरेका छन् । बुफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच वटा विश्वकप खेलेका थिए ।
केपी ओली कपको उपाधिका लागि मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी क्लबले खेल्ने छन् । दशरथ रङ्गशालामा हिजो भएको दोस्रो सेमिफाइनलमा आयोजक केपी एफसीलाई चार गोलको फराकिलो अन्तरले हराउँदै मच्छिन्द्र उपाधि नजिक पुगेको हो । त्यस्तै अस्ति भएको पहिलो सेमिफाइनलमा सङ्कटा क्लबलाई २–१ ले हराउँदै आर्मी फाइनलमा पुगेको थियो ।