दीपक रौनियार निर्देशित फिल्म ‘राजागञ्ज’को ट्रेलर सार्वजनिक

होमपेज / मनोरंजन / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १९ फागुन २०८१ (२ महिना अघि)
  • १८८

दीपक रौनियार निर्देशित फिल्म ‘राजागञ्ज’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण प्रकाश पार्छ ।

सांसदका छोरासहित दुई पहाडे बच्चाको अपहरणपछि तिनलाई मुक्त गर्न प्रहरीले चालेको खोजी अप्रेसनको कथा फिल्ममा छ । फिल्मको शीर्ष भूमिका इन्सपेक्टर पूजाको भूमिकामा आशा मगराती चित्रित छिन् । पूर्वमिस नेपाल समेत रहेकी निकिता चाण्डक पनि प्रहरी अफिसरको रोलमा छिन् । विजय बराल र दयाहाङ राई पनि फिचर्ड छन् ।

पत्रकार सम्मेलनमा बोल्दै निर्देशक रौनियारले नेपालका दर्शकमाझ फिल्म ल्याउन लागेकोमा आफूहरू उत्साहित रहेको बताए । मधेशको कथालाई फिल्ममा आफूलाई यो जनरा सहज लागेको बताउँदै निर्देशक रौनियारले नयाँ बजारको खोजी फिल्म निर्माण पछिको उद्देश्य रहेको बताए ।

फिल्ममा १००० हजारभन्दा क्रू सहभागि रहेको र आफ्नो फिल्म करिअरमा यति ठूलो फिल्म बनेको उनले बताए । अध्ययन र अनुसन्धानपछि पूजा नामक फिल्मको चरित्र विकास गरेको दीपकले बताए । निर्मातामध्येका रामबाबु गुरुङले निर्देशक रौनियारसँग भविष्यमा पनि सहकार्य हुने बताए ।

अभिनेता तथा निर्मातामध्येका दयाहाङ राईले दीपक, रामबाबु र आफूबीच धेरै पहिलेदेखिको मित्रता रहेको बताउँदै यो भाव फिल्म मेकिङमा पनि झल्किएको बताए । अभिनेत्री ऋचा शर्माले रौनियारका फिल्म गर्दा आत्मसन्तुष्टि हुने बताइन् । यो फिल्मबाट पहिलोपटक शीर्ष भूमिकामा देखिन लागेकी आशा मगरातीले आफूले चरित्रलाई न्याय गर्न प्रयास गरेको बताइन् ।

ट्रेलरमा बच्चा अपहरणपछि त्यसलाई मुक्त गर्न प्रहरीले गरेको संघर्ष, बच्चाकी आमा र प्रशासनसँगको नोकझोक, राजनीतिक आयामका पक्ष पनि चित्रण गरिएको छ । ऋचाले अपहरण गरिएका बच्चाकी आमाको भूमिकामा अभिनय गरेकी छन् । पूर्वमिस नेपाल समेत रहेकी निकिता चाण्डक, कलाकार विजय बराल, गौमाया गुरुङ, पशुपति राईको पनि अभिनय यसमा छ ।

‘राजागञ्ज’ फिल्मको निर्माण आदि फिल्म्सका लागि रौनियार र मगराती, बाँसुरी फिल्म्सका लागि रामबाबु गुरुङ र तन्हाउसर गेटका लागि एलन आर मिलिगनले गरेका हुन् । भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको ‘राजागञ्ज’ चैत १ गते (१४ मार्च)मा नेपालका हलमा रिलिज हुँदैछ ।

अन्तिम अध्यावधिक: १९ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस