कैलाली –
कैलालीको टीकापुरमा सडकका डिभाइडरमा रोपिएका गुलाबका बोट सिँचाइ गर्न जडान गरिएका खानेपानी मिटर चोरी भएका छन् । बुधवार राती टीकापुर नगरपालिकाले सिँचाइका लागि जडान गरेका ९ वटा मिटर चोरी भएका हुन् । नगरपालिकाले जमरा पुलदेखि बसपार्कसम्म खानेपानीका ३२ वटा मिटर जडान गरेकोमा ९ चोरी भएको नगर प्रमुखको सचिवालयका प्रमुख एलबी बुढाले बताए ।
प्रहरीले मिटर चोरीमा संलग्न व्यक्तिको खोजी गरिरहेको जनाएको छ । नगरपालिकाले टीकापुरलाई गुलाबको सहर बनाउने भन्दै जमरापुलदेखी बसपार्कसम्मको सडकको दुवैतर्फ गुलाबको बोट रोपेको छ । गुलाबको बोटलाई नियमित सिँचाई आवश्यक पर्ने भएकाले नगरपालिकाले खानेपानीको पाइप मार्फत सिँचाई गर्ने व्यवस्था गरेको छ ।