सरकारले आन्दोलरत शिक्षकलाई वार्तामा बोलायो

होमपेज / समाचार / स्वास्थ्य/शिक्षा /
आन्दोलन छाडेर वार्ताबाट समस्या सामाधान खोज्न शिक्षक महासङ्घलाई आग्रह
  • रेडियो सुदूर सञ्चार
  • २२ चैत २०८१ (२ हप्ता अघि)
  • २३४

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलरत शिक्षकलाई वार्ताका लागि बोलाएको छ ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विज्ञप्ति निकालेर आन्दोलन छाडेर वार्ताबाट समस्या सामाधान खोज्न नेपाल शिक्षक महासङ्घलाई आग्रह गर्नुभएको हो ।

‘शिक्षक समुदायसँग विगत झैँ फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न नेपाल सरकार तयार रहेकाले शिक्षा तथा कर्मचारीका प्रतिनिधिलाई मन्त्रालयमा हार्दिक स्वागत गर्दछौँ’, उहाँले भन्नुभएको छ ।

प्रवक्ता सापकोटाले विद्यालय शिक्षा विधेयक स्वीकृतिको पर्खाइमा रहेकाले यसका लागि सामूहिक सन्देश प्रवाह गर्न मन्त्रालय सदैव सकारात्मक रहेको उल्लेख गर्नु भएको छ ।

‘विद्यालय शिक्षा विधेयक समयमै पारित गर्ने वातावरण सिर्जना गर्नका निमित्त सिङ्गो शिक्षक समुदायको पैरवी, सरोकार र ऐक्यबद्धताका बारेमा मन्त्रालय सदैव सकारात्मक छ’, प्रवक्ता सापकोटाले भन्नुभएको छ,‘शिक्षक समुदायका प्रतिनिधिसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकाले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने अपेक्षा रहनु र यस विषयप्रति शिक्षक तथा कर्मचारीको चासो रहनु स्वाभाविकै हो ।’

उहाँले विधेयक संसद्मा पेश हुने, छलफल हुने र स्वीकृति हुने विधायकी प्रक्रिया हुने स्मरण गराउनुभएको छ ।

विद्यालय शिक्षा विधेयक चाँडै पारित गराउन देशभरका शिक्षकहरुले अस्ति बुधवारदेखि काठमाण्डौमा प्रदर्शन थालेका हुन् ।

हिजो कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसहित शिक्षक महासङ्घसँग सिंहदरबारमा बसेको बैठकमा शिक्षकका माग सम्बोधन गरेर नै छिटो विधेयक टुङ्ग्याउने कुरामा सहमति भएको छ ।

अन्तिम अध्यावधिक: २२ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस