दीपेन्द्र के खनाल निर्देशित सोसल ड्रामा ‘के घर के डेरा : घर नं २’को प्रदर्शन मिति तय भएको छ । निर्माताले बिहीबार पोस्टर सार्वजनिक गर्दै जेठ २ मा प्रदर्शनमा आउने जनाएका हुन् ।
सार्वजनिक तीन पोस्टरमा मुख्य ३ पात्र र उनीहरूको मनोदशालाई चित्रण गरिएको छ । एक पोस्टरमा अभिनेता निश्चल बस्नेतलाई प्रस्तुत गरिएको छ ।
दोस्रो पोस्टरमा खगेन्द्र लामिछाने र उपासनासिंह ठकुरीलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ । तेस्रो पोस्टरमा मुख्य पात्रहरूलाई चित्रण गरिएको छ । पोस्टरले चरित्र चित्रण, उनीहरूको मनोदशा र फिल्मको सेटिङलाई दर्शाएको छ ।
सहरमा बस्ने मध्यमवर्गीय पात्रको संघर्ष र हैरानीको कथा यसमा समेटिएको छ । पोस्टरमा आर्यन सिग्देल, खगेन्द्र, केकी अधिकारीलाई गम्भिर र चिन्ताग्रस्त भावमा देखाइएको छ ।
फिल्मलाई ‘कर्नाली ब्लुज’, ‘एक्लो’, ‘फिरफिरे’जस्ता उपन्यासका लेखक बुद्धिसागरले लेखेका हुन् । यो उनी लिखित पहिलो कथानक फिल्म हुनेछ ।
कृष्णबहादुर थापाको छायांकन रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियसनको प्रस्तुतिमा निर्माण भएको हो । नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन निर्माता रहेको फिल्ममा युवराज कार्की कार्यकारी निर्माताको रुपमा रहेका छन् ।