कञ्चनपुर –
जिल्लाको सदरमुकाम महेन्द्रनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार मोटरसाइकल र्याली आयोजना गरेको छ ।
पार्टीकाे शक्ति प्रदर्शन संगठनात्मक सुदृढीकरण, आगामी रणनीति बारे आम जनताको ध्यान आकृष्ट गर्ने उद्देश्यले निकालिएको र्यालीमा हजारौं कार्यकर्ता मोटरसाइकल सहित सहभागी भएका थिए ।
र्याली महेन्द्रनगरको मुख्य चोकबाट सुरु भई बजारका विभिन्न भाग परिक्रमा गर्दै पुनः खुला मञ्चमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै पार्टीका नेताहरूले वर्तमान सरकारको आलोचना गर्दै राप्रपालाई राष्ट्रिय हितको वैकल्पिक शक्तिका रूपमा अघि सार्नुपर्ने धारणा राखेका छन् ।
उनीहरूले हिन्दू राष्ट्र पुनःस्थापना, संवैधानिक राजतन्त्रको पुनरागमन र सुशासन कायम गर्न राप्रपाको एजेन्डालाई मजबुत रूपमा अघि सारे ।
नेताहरूले काठमाडौंको तीनकुनेमा आयोजित प्रदर्शनका क्रममा पक्राउ परेका आफ्ना नेता–कार्यकर्ताहरूको अविलम्ब रिहाइको माग गर्दै सरकारले शान्तिपूर्ण आन्दोलनमा दमनकारी नीति अपनाएको आरोप लगाए ।
साथै, नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्यप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल यस्ता गतिविधि रोक्न चेतावनी समेत दिएका छन् ।
र्यालीका सहभागीहरूले ‘हाम्रो धर्म, हाम्रो संस्कृति बचाउ’, ‘राजा आऊ, देश बचाउ’, ‘हिन्दू राष्ट्र कायम गर’ जस्ता विभिन्न नारा लगाएका थिए ।
कोणसभामा बोल्ने अधिकांश वक्ताहरूले राष्ट्रिय स्वाभिमान, धार्मिक स्वतन्त्रता र राष्ट्रिय एकताको संरक्षणमा राप्रपाको भूमिकालाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बोल्दै केही नेताहरूले आगामी निर्वाचनमा राप्रपालाई सशक्त विकल्पका रूपमा प्रस्तुत गर्न संगठनलाई अझ मजबुत बनाउने घोषणा गरे ।
शान्तिपूर्ण र्यालीमा राप्रपाका जिल्ला तथा स्थानीय तहका नेताहरू, युवाहरू र समर्थकहरूको उल्लेखनीय उपस्थिति थियो ।