बिसु पर्व नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २४ चैत २०८१ (२ हप्ता अघि)
  • ३०७

सुदूरपश्चिमको साँस्कृतिक पहिचानका रुपमा रहेको बिसु पर्व नजिकिएसँगै दार्चुलासहित सुदूरपश्चिममा चहलपहल बढेको छ।

नयाँ बर्षको पहिलो दिन बैशाख १ गते मनाईने बिसु पर्वको लागि घर लिपपोतदेखि रोजगारी र अध्यनको लागि घर बाहिर रहेकाहरू घर फर्कने क्रम बढेसँगै जिल्लाका ग्रामीण क्षेत्रमा चहलपहल बढेको हो।
नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमबासीले बिसु पर्वका रुपमा मनाउने गर्दछन् । बिसु पर्व मनाउनका लागि घर बाहिर रहेकाहरु र्फकने गरेका छन् ।

बिसु पर्व आउनु पूर्व नै सुदूर पहाडका घर रातो माटो र कमेरो माटोले रङ्गिन हुन थालेका छन् । नयाँ वर्ष आउनुभन्दा पहिले नै घर लिपपोत गरेमा वर्षभरी नै सुख, शान्ति र समृद्धि कायम हुन्छ भन्ने जनविश्वास रहेको ज्योतिष पण्डित इन्द्रदेव जोशी बताउनुहुन्छ । चैत सुरु भएदेखि नै घर लिप्ने र पोत्ने काम सुरु हुन्छ भने यो काम चैत महिनामा नै सक्नुपर्छ। पछिल्लो समयमा घर निर्माणमा सिमेन्टको प्रयोग बढ्न थालेपछि कमेरो र रातोमाटोको प्रयोग भने घट्दै गएको पाईन्छ ।

चैत सुरु भएपछि घर लिपपोत गर्नका लागि धेरै टाढासम्म कमेरो र रातोमाटो लिन जाने गरेको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ का स्थानीय कौशिला मिश्रले बताउनुभयो । घरबाट करिब २ घण्टाको बाटो हिडेर घर लिपपोतका लागी रातो माटो र कमेरा ल्याउने गरेको उहाँले बताउनुभयो ।

नयाँ वर्ष तथा बिसु पर्वमा भारत गएकाहरू घर फर्किन थालेका छन् । उनीहरूको आगमनले गाउँमा थप चहलपहल बढेको छ। यो समय हिउँदे बाली भित्र्याउने समय भएकोले रोजगारीको लागि घरबाहिर रहेका स्थानीयहरु गाउँ फर्केसंगै गाउँमा चहलपहल सुरु भएको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का स्थानीय अनिल सिंह धामीले बताउनुभयो । बिसु पर्वको अवसरमा बिहे गरेर गएका छोरी चेलीसमेत माइत जाने चलन पनि छ। बिसु पर्वमा मिठा–मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी काम गर्ने क्रममा शरीरमा रहेका सवै प्रकारका बिष निस्कृय हुने जनविश्वास रहेको छ ।

बैशाख शुरु भएसंगै रोगब्याधी, महामारी र अनिकालको समय शुरु हुने भएकाले त्यसको सुरक्षाका लागि सिस्नो लगाउँदै घरपरिवारका सदस्यसँगै बसेर बिसु पर्व मनाउने प्रचलन रहेको छ ।
१ गते संक्रान्तिको दिन बिहानै नुहाएर सिस्नो लगाउने प्रचलन छ । यसरी सिस्नो लगाउँदा अघिल्लो वर्ष आफ्नो शरीरमा कुनै रोग लागेको भए त्यसबाट मुक्त भइने र नयाँ वर्षमा जुनसुकै विषालु जीवहरुबाट बचिन्छ भन्ने धार्मिक मान्यता रहेको यस क्षेत्रका नागरिकको जनविश्वास रहेको छ।

देवर–भाउजू, नन्द–भाउजू, साली–भिनाजु, फुपु–सालीहरुका बिचमा सिस्नो पानी छ्याप्दै बिसु पर्व मनाउने चलन छ ।

अन्तिम अध्यावधिक: २४ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस