बैतडी -
बैतडीमा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन् । जिल्लाको शिवनाथ गाउँपालिका-१ मटेलाकी ३९ वर्षीया विन्दरा साउँदमाथि चितुवाले आक्रमण गरेको हो ।
स्थानीय जंगलमा बाख्रा चराउन गएकी साउँदलाई मंगलबार दिउँसो १ बजेतिर चितुवाले आक्रमण गरेको स्थानीय दशरथ चाडले बताए । चितुवाले पहिला बाख्रामाथि आक्रमण गरेको र त्यसपछि विन्दारामाथि आक्रमण गरेको उनले बताए ।
विन्दरासंगै रहेका अरु गोठलाहरुले होहल्ला गरेपछि चितुवा भागेको थियो । चितुवाको आक्रमणबाट घाइते भएकी विन्दराको टाउको, मुख र गर्धनमा चोट रहेको चाडले बताए । उनलाई उपचारका लागि भारतको लुवाघाट लगिएको छ ।
चितुवाले मानिसमाथि आक्रमण गर्न थालेपछि स्थानीयबासिन्दाहरु त्रसित बनेका छन् । तल्लोसोराड क्षेत्रमा २०६८ सालयता चितुवाले बेलाबेलामा मानिसमाथि आक्रमण गर्दै आएको छ ।