देशका विभिन्न ठाउँमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । चट्याङ लागेर डोटी, बझाङ र रोल्पामा एक/एक जनाको मृत्यु भएको हो ।
गएराति डोटीमा हावाहुरी, असिनापानीसँगै परेको चट्याङ लागेर सायल गाउँपालिका–६ दल्लेखकी ३३ वर्षीया कमला नागरीको मृत्यु भएको हो । चट्याङ लागेर मृतक नागरीका छोराछोरीसहित ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्माले बताए ।
यस्तै बझाङको वित्थडचिर गाउँपालिका–३ मा पानीसँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।
चट्याङ लागेर लुम्बिनी प्रदेशको रोल्पा नगरपालिका १० कुटिबाङ घर भई रोल्पाकै सुनिलस्मृति गाउँपालिकामा आफन्तको घरमा बस्ने १५ वर्षीया किशोरीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै हिजो झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर घरमै खाना खाइरहेका ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै ज्यान गएको थियो ।
अहिले प्रिमनसुनको बेला चट्याङका दृष्टिले निकै जोखिमपूर्ण मानिन्छ । चैत १५ गतेदेखि असार मसान्तसम्म नेपालमा चट्याङको बढी जोखिम हुने गर्छ ।