बेलौरीमा शनिबार शाेभा यात्रा, नगर भक्तिमय बनाउने तयारी

होमपेज / कला संस्कृति / विविध / समाज /
  • चन्द्रिका चौधरी
  • २९ चैत २०८१ (१ हप्ता अघि)
  • १९०

बेलाैरी, कञ्चनपुर —

हिन्दू धर्मका परम भक्त श्री हनुमानको जन्मोत्सवको अवसरमा कञ्चनपुरको बेलौरी नगरपालिका–४ स्थित रिछाहा (बालाजी धाम) मा एक भव्य शोभा यात्रा आयोजना गरिने भएको छ।

विश्व हिन्दू परिषद्, कञ्चनपुर बेलौरी नगर समितिको आयोजनामा हुने उक्त कार्यक्रमले धार्मिक जागरणसँगै सामाजिक एकता र सांस्कृतिक पहिचानलाई बल दिने अपेक्षा गरिएको छ।

शाेभायात्रा यही चैत ३० गते शनिबार, बिहान ९:३० बजे राधा कृष्ण मन्दिर प्राङ्गणबाट सुरु हुने आयाेजकले जनाएको छ ।

शोभा यात्रामा सुन्दरकाण्ड पाठ, भजन कीर्तन, धार्मिक झाँकी र बाजा सहित नगरका विभिन्न क्षेत्रको परिक्रमा गरिनेछ।

धार्मिक भावनाको सम्मान, सामाजिक एकताको सन्देश”

स्थानीय समाजसेवी लक्ष्मण दियालले जानकारी दिएअनुसार शोभा यात्राको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।

“श्री हनुमान जन्मोत्सव हिन्दू समुदायका लागि विशेष भावनासँग जोडिएको अवसर हो,” दियालले भने, “हामीले यो यात्रामार्फत धर्म, संस्कृति र समाजबीचको समरसतालाई अझ मजबुत बनाउने उद्देश्य राखेका छौं।”

उनका अनुसार स्थानीय भक्तजन, महिला समूह, धार्मिक संघसंस्था र विभिन्न समुदायको सहभागिता रहने छ। सुरक्षा, स्वास्थ्य सेवा र ट्राफिक व्यवस्थापन समेतलाई ध्यान दिँदै सराेकारवालाहरु संगकाे समन्वयमा कार्यक्रम सञ्चालन गरिनेछ।

महिलाहरूको नेतृत्वमा भक्तिमय झाँकी

कार्यक्रम व्यवस्थापन समितिकी संयोजक विजया लक्ष्मी श्रेष्ठले महिलाहरूको सहभागिता यस वर्ष विशेष हुने बताइन्।

“हाम्रो संस्कृति र धार्मिक परम्पराको संरक्षण र संवर्द्धन गर्नु हाम्रै कर्तव्य हो,” श्रेष्ठले भनिन्, “महिलाहरूले भजन मण्डली, स्वागत टोली, र झाँकी निर्माणमा नेतृत्व लिएका छन्। यो शोभा यात्रा महिलाको नेतृत्वको दृष्टिले पनि ऐतिहासिक बन्नेछ।”

श्रेष्ठका अनुसार श्रीराम, लक्ष्मण र हनुमानको कथामा आधारित दृश्यहरू झाँकीमार्फत प्रस्तुत गरिनेछ। बालबालिकाको सांस्कृतिक प्रस्तुति र वृद्धवृद्धाको आशीर्वादले कार्यक्रमलाई थप गरिमामय बनाउने विश्वास लिइएको छ।

नगरका लागि श्रद्धा, आस्था र पर्यटन प्रवर्द्धनको अवसर

शोभा यात्रालाई बेलौरी नगरको धार्मिक पर्यटक गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने अवसरका रूपमा पनि हेरिएको छ। आयोजकका अनुसार कार्यक्रमपछि बालाजी धाम परिसरमा प्रसाद वितरण र भजन कार्यक्रम सञ्चालन गरिनेछ।

विश्व हिन्दू परिषद्को नेतृत्वमा हुने यस धार्मिक कार्यक्रमका लागि सम्पूर्ण नगरवासी, श्रद्धालु भक्तजन, धर्मप्रेमी र सामाजिक व्यक्तित्वहरूलाई उपस्थित भई पुण्य लाभ लिन समेत आव्हान गरिएको छ।

अन्तिम अध्यावधिक: २९ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस