बेलौरी नगरपालिका–५ शोभातालमा आन्तरिक पर्यटकहरूको घुइँचो

होमपेज / कला संस्कृति / पर्यटन / विविध / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २ बैशाख २०८२ (४ दिन अघि)
  • ६७२

किसन गम्वा / बेलौरी, कञ्चनपुर -

कञ्चनपुरको बेलौरी नगरपालिका–५ मा अवस्थित प्रमुख पर्यटकीय स्थल शोभातालमा आन्तरिक पर्यटकहरूको बाक्लो उपस्थितिले चहलपहल बढाएको छ । विशेषगरी शनिबार, बिदा र चाडपर्वका समयमा यहाँ घुम्न आउने पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि हुने गरेको छ ।

शोभातालको शान्त वातावरण, हरियाली जंगल, तालमा डुंगा सयर तथा आसपासको प्राकृतिक सौन्दर्यताले शाेभातालको आकर्षण थप बढाएको छ । 

तालको सौन्दर्य अवलोकन गर्न, डुंगा चलाउन तथा फोटो खिच्न आउने युवापुस्ता, परिवार तथा जोडी पर्यटकहरू यहाँ नियमित देखिन्छन् ।

समाजसेवी कृपाराम चाैधरीका अनुसार विगत केही वर्षयता शोभातालमा आउने पर्यटकहरूको संख्या बढ्दो क्रममा छ । यहाँ पर्यटकका लागि बास तथा भोजनको समेत सहज व्यवस्था हुन थालेको छ, जसले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याइरहेको छ ।

स्थानीयले यस कार्यको सुरुवात गर्ने बेलौरी नगर प्रमुख(मेयर) पोतीलाल चौधरीलाई धन्यवादका पात्रका रूपमा लिएका छन् । तालको संरक्षण, पूर्वाधार विस्तार र पर्यटन प्रवर्द्धनका लागि उनले थालेका प्रयासहरू सराहनीय छन् ।

नगर प्रमुख चौधरी भन्छन्, "शोभाताल केवल प्राकृतिक सौन्दर्य मात्र होइन, यो हाम्रो सामुदायिक गर्व हो । हामी यसलाई व्यवस्थित र समृद्ध बनाउने दिगो योजनामा छौं । स्थानीय पर्यटन विकासबाट रोजगारी सिर्जना र आर्थिक समृद्धि सम्भव छ भन्ने हाम्रो विश्वास हो ।"

यसबाहेक, ताल क्षेत्रमा हालै एक आधुनिक स्वीमिङ पुलको शिलान्यास समेत गरिएको छ, जसले आगामी दिनमा पर्यटकहरूलाई थप आकर्षित गर्ने विश्वास लिइएको छ । शोभाताल क्षेत्रलाई सशक्त पर्यटकीय गन्तव्य बनाउन पार्क, खेलमैदान, रेस्टुरेन्ट, बोटिङ सेन्टर, पिकनिक स्पटलगायतका थप पूर्वाधार विकासमा स्थानीय सरकारले जाेड दिइरहेकाे छ ।

पर्यटन व्यवसायीहरूका अनुसार शोभाताललाई अझ व्यवस्थित तथा आकर्षक बनाउन सक्ने हो भने यसलाई सुदूरपश्चिम प्रदेशकै एक प्रमुख गन्तव्यस्थलको रूपमा विकास गर्न सकिनेछ ।

तालको विकासले पर्यटनको प्रवर्द्धन मात्र नभइ स्थानीय रोजगारी सिर्जना, आयआर्जन र समग्र क्षेत्रको समृद्धिमा समेत टेवा पुग्ने विश्वास गरिएको  शाेभाताल संरक्षण समितिले जनाएको छ ।

अन्तिम अध्यावधिक: २ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस