बेलाैरी, कञ्चनपुर —
बेलौरी नगरपालिकाले स्थानीय युवाहरूका लागि निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालनमा ल्याएको छ। विशेष गरी खरिदार पदको प्रथम पत्र लक्षित गरी १६ चैत्र ०८१ देखि सञ्चालन भएको कक्षा अब अन्तिम चरणमा पुगेको जनाइएको छ।
नि:शुल्क लाेकसेवा तयारी कक्षा बारे बेलाैरी नगरप्रमुख पोतीलाल चौधरीले युवाहरूका लागि यस्तो अवसर आफैंमा ऐतिहासिक रहेको बताए।
“काठमाडौं, महेन्द्रनगर वा धनगढीजस्ता टाढा ठाउँमा गएर लाेक सेवा तयारी गर्नुपर्ने बाध्यता हटेको छ,” उनले भने, “हामीले आफ्नै पालिकाभित्रै यस्तो वातावरण निर्माण गरेका छौं, जहाँ विद्यार्थीहरू सुलभ, गुणस्तरीय र व्यवस्थित तयारी गर्न सकुन।”
नगरप्रमुख चौधरीले थपे,
“बेलौरी नगरपालिका अब सेवा प्रवाहमात्र होइन, अवसर सिर्जना गर्ने स्थान बनेकाे छ। यस्ता कार्यक्रमले युवालाई सक्षम बनाउने विश्वास झल्काउँछ।”
अनुभवी प्रशिक्षकको सहभागिता
तयारी कक्षामा नेपाल सरकारका उपसचिव तथा कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेल, बेलौरी नगरपालिका प्रशासन अधिकृत झपीराज ओझा लगायतका दक्ष अनुभवी प्रशिक्षकहरुले प्रशिक्षण दिइरहेका छन्।
प्रशिक्षक उपसचिव पोखरेलले भने,
“प्रतिस्पर्धात्मक परीक्षामा सफल हुन रणनीति, नियमित अभ्यास र मनोबल सबै जरूरी पर्छ। यस्ता कक्षाले त्यही कुरा दिन्छ।”
सहभागीहरू भन्छन् — “अवसर र आत्मविश्वास दुवै पाइयो”
कक्षा सञ्चालनसँगै सहभागी विद्यार्थीहरू पनि निकै उत्साहित छन्। सहभागी विद्यार्थी भुपी कार्कीका अनुसार, “हाम्रो जस्तो दुर्गम क्षेत्रका विद्यार्थीलाई यस्तो तयारी कक्षा हुनु निकै ठूलो कुरा हो।”
सुरिला चौधरी भन्छिन्, “अब अन्योल छैन, कुन किताब पढ्ने, कसरी तयारी गर्ने — प्रशिक्षकहरूले प्रस्ट मार्गदर्शन दिनुभएको छ।”याे निरन्तर हुनुपर्छ।
टेकराज पन्तको भनाइमा, “कक्षा एकदमै व्यवस्थित र उपयोगी छ। यस्तो सहयोगले पढ्न अझ हौसला मिलेको छ।”
डिजिटल र व्यवस्थापन पक्ष सुदृढ
कम्प्युटर अपरेटर अशोक पाण्डेले कक्षा सञ्चालनमा सूचना प्रविधिको उच्चतम प्रयोग गरिएको जानकारी दिए।
“शैक्षिक सामग्री, तालिका र व्याख्यान डिजिटल माध्यमबाट समेत उपलब्ध गराइएको छ,” उनले भने।
कार्यक्रम सूचना प्रविधि प्रवर्द्धन र संयोजनमा सञ्चालन गरिएको हो। नगरपालिकाले आगामी दिनमा पनि अझै प्रभावकारी ढंगले नि:शुल्क लाेकसेवा तयारी कक्षा सञ्चालन गर्ने जनाएको छ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुना डाेटीकाे सहयोगमा सञ्चालित तयारी कक्षामा स्थानीय ६०भन्दा बढी विद्यार्थीहरुकाे सहभागीता रहेको आयाेजकले जनाएको छ ।