बेलौरी, कञ्चनपुर –
बिहीबार कञ्चनपुर जिल्लाका दुई स्थानीय तह—बेलौरी नगरपालिका र लालझाडी गाउँपालिका बीच आपसी सहकार्य र समझदारीमा आधारित भएर एउटा ऐतिहासिक निर्णय गरिएको छ।
दुवै पालिकाले संयुक्त रूपमा एक थान आधुनिक दमकल (अग्निनियन्त्रक सवारी साधन) खरिद गर्ने निर्णय गरेका हुन्, जसले आगामी दिनमा आगलागीबाट हुने सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।
यस सहकार्यको औपचारिक निर्णय बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरी र लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाबीचको गहिरो छलफलपछि गरिएको हो।
लामो समयदेखि दुवै पालिकामा आगलागी नियन्त्रणको पूर्वाधार अभाव रहेको भन्दै जनस्तरमै यस्तो उपकरण खरिदको माग उठ्दै आएको थियो।
निर्णयअनुसार दमकल खरिदमा बेलौरी नगरपालिकाले ६५ प्रतिशत लगानी गर्नेछ भने लालझाडी गाउँपालिकाकाे ३५ प्रतिशतको सहभागिता रहने जनाइएको छ।
सो उपकरण दुवै पालिकाका जोखिमयुक्त बस्तीहरूमा तत्काल सेवा प्रवाह गर्ने हिसाबले सञ्चालन गरिने बेलाैरी नगर विपद् व्यवस्थापन सम्पर्क व्यक्ति अशोक पाण्डेले बताए।
यस्तै, नगरप्रमुख पोतीलाल चौधरीले भन्नुभयो,
“हामीले नागरिकको ज्यान र सम्पत्तिको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेका छौं। विगतमा देखिएका आगलागीका घटनाहरूले हामीलाई पूर्वतयारीको खाँचो महसुस गराएको थियो। यस सन्दर्भमा, लालझाडी गाउँपालिकासँगको सहकार्यले एउटा सकारात्मक मोड लिएको छ। यो केवल दमकल खरिदको निर्णय मात्र होइन, आगामी दिनमा विकास र सेवा प्रवाहका अन्य क्षेत्रहरूमा पनि सहकार्यको ढोका खोल्ने अवसर हो।”
उता, लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना भन्नुहुन्छ,
“हाम्रो गाउँपालिका अझै पनि धेरै कुराहरूमा आधारभूत पूर्वाधारको अभावमै छ। दमकलजस्तो आवश्यक र जीवनरक्षक उपकरण नहुँदा विगतमा विभिन्न दुर्घटनाहरूमा नियन्त्रण गर्न गाह्रो परेको थियो। हामीले बेलौरी नगरपालिकासँग सहकार्य गरेर यो अभाव पूर्ति गर्न लागेका छौं, जुन केवल सहकार्यको सुरुआत हो। यसले दुवै पालिकाका जनताको जीवनस्तरमा प्रत्यक्ष असर पार्नेछ।”
उक्त छलफल र निर्णय प्रक्रियामा लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्की, बेलौरी नगरपालिका प्रतिनिधि गणेश सिंह ऐर, समाजसेवी दिनेश कुँवर, कैलाश सिंह विष्ट लगायत स्थानीय सरोकारवालाहरूको उपस्थिति थियो। उनीहरूले समेत यो सहकार्यलाई ऐतिहासिक कदमको रूपमा मूल्याङ्कन गरेका छन्।
यस विषयमा थप जानकारी दिंदै विपद् व्यवस्थापन सम्पर्क व्यक्ति पाण्डेले भने, “दुवै पालिकाबीच औपचारिक सहमतिपछि चालु आर्थिक वर्षभित्रै दमकल खरिद प्रक्रिया सम्पन्न गरिनेछ। आवश्यक प्रक्रिया—बोलपत्र आव्हान, प्राविधिक मापदण्ड, आपूर्ति समय सीमा लगायतका विषयमा दुवै पालिकाले सहमति बनाउनेछन् र उपकरणलाई सञ्चालनको लागि तयारी गरिनेछ।”
उक्त सहकार्यले केवल उपकरण खरिदमा सीमित नरहेर, विपद् व्यवस्थापनको क्षेत्रमा स्थानीय तहबीचको समन्वय, स्रोत साधनको संयुक्त उपयोग र दीर्घकालीन समाधानको दिशामा उदाहरणीय पहल गरेको छ।