बेलाैरी : कालिका मन्दिर परिसरमा शिवजीकाे मूर्ति स्थापनार्थ शिलान्यास

होमपेज / विविध / समाचार / समाज /
  • शीतल भट्ट
  • ४ बैशाख २०८२ (२ दिन अघि)
  • ३०२

बेलाैरी, कञ्चनपुर

बेलाैरी नगरपालिकाको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको कालिका मन्दिर परिसरमा भगवान शिवको भव्य मूर्ति स्थापनाको कार्य सुरु भएको छ।

बिहीबार नगर प्रमुख पोतीलाल चौधरीको प्रमुख आतिथ्यमा आयोजित विशेष कार्यक्रमबीच औपचारिक रूपमा शिलान्यास गरिएको हो।

कार्यक्रमको विधिवत् पूजाआजा तथा मन्त्रिपाठपछि मूर्ति स्थापनाका लागि शिलान्यास गरिएकाे थियोे। कार्यक्रममा नगरका धार्मिक अगुवा, समाजसेवी, महिला मन्दिर समितिका सदस्य, स्थानीय श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

मन्दिर निर्माण समिति संयोजक प्रकाश राज पन्तका अनुसार, स्थापन हुन लागिरहेको शिवजीको मूर्ति करिब ३५ देखि ४० फिट अग्लो हुनेछ। उनले मूर्ति केवल आस्था होइन, सम्पूर्ण नगरको गौरवको प्रतीक हुने बताए।

उनले भने, मूर्ति यति अग्लो र कलात्मक हुनेछ कि यो स्थान धार्मिक तथा पर्यटकीय दृष्टिकोणले एक आकर्षक गन्तव्य बन्नेछ। यसका लागि हामीले अनुभवी मूर्तिकार महेन्द्र पुनलाई जिम्मा दिएका छौं।

अनुभवी मूर्तिकार महेन्द्र पुनले मूर्ति निर्माण धार्मिक, सांस्कृतिक र कलात्मक अभिव्यक्तिको संयोजन हुने बताए। “यो मेरो लागि केवल एउटा प्रोजेक्ट होइन, भावनाको प्रतीक हो,” उनले भने, “म मूर्तिमा स्थानीय संस्कृति, हिन्दू दर्शन र कलाको समन्वय गरेर निर्माण गर्नेछु।”

नगर प्रमुख पोतीलाल चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै कालिका मन्दिर क्षेत्रलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजनाअन्तर्गत शिवजीको मूर्ति स्थापनाको काम अघि बढाइएको बताए।

उनले भने, “कालिका मन्दिर हाम्रो पहिचान हो। शिवजीको मूर्ति स्थापना नगरवासीको आस्था, संस्कृति र गौरवसँग जोडिएको छ। यसले धार्मिक पर्यटनमा पनि टेवा पुर्‍याउनेछ। म यो परियोजनालाई पूर्ण सफल बनाउन नगरपालिकाको तर्फबाट आवश्यक सबै सहयोग गर्नेछु।”

उनका अनुसार मन्दिर क्षेत्रको समग्र सौन्दर्य अभिवृद्धि, हरियाली व्यवस्थापन, बाटो, पर्खाल, विश्रामस्थल र जलपान स्थलको निर्माणसमेत योजनामा छन्।

कालिका मन्दिर बेलौरीको प्रमुख धार्मिक स्थल हो जहाँ प्रत्येक वर्ष विशेष गरी दशैँको समयमा हजारौँ श्रद्धालुहरूको भीड लाग्ने गर्छ। यहाँ आयोजना हुने पूजा, मेला र हवन कार्यक्रमहरूले धार्मिक चेतना र सामाजिक एकता प्रवर्द्धन गर्दै आएको छ।

स्थानीयवासीहरू शिवजीको मूर्ति स्थापनाले मन्दिरको गरिमा अझै बढ्ने र नगरलाई धार्मिक पर्यटनको नक्सामा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्।

अन्तिम अध्यावधिक: ४ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस