कञ्चनपुर : एमाले नेता भट्टका सात सवाल 

होमपेज / समाचार /
“अब चुप बस्ने समय सकियो, जवाफ देऊ”
  • रेडियो सुदूर सञ्चार
  • ४ बैशाख २०८२ (२ दिन अघि)
  • ४४७

कञ्चनपुर — नेकपा एमालेका युवा नेता पल्लवराज भट्टले कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित जनप्रतिनिधिलाई ७ (सात) प्रश्न गरेका छन् । 

एमाले कञ्चनपुर जिल्ला सचिव समेत रहेका नेता भट्टले निर्वाचित जनप्रतिनिधिलाई सामाजिक सञ्जाल मार्फत सात प्रश्न गरेका हुन् ।

उनलेे लेखेका छन् “अब चुप बस्ने समय सकियो, जवाफ देऊ।”

जनताको आवाज बन्दै नेता भट्टले कञ्चनपुर क्षेत्र नम्बर १ मा वर्षौंदेखि अलपत्र विकासे योजनाहरू र उपेक्षित जनसमस्या माथि ठोस प्रश्न राख्दै माथि निर्वाचित  जनप्रतिनिधिको जवाफ मागेका हुन्।

उनी भन्छन्,“यी समस्या तपाईंहरुकै कार्यकालमा समाधान हुन्छन् कि फेरि अर्को चुनावसम्म कुर्नुपर्छ?  जवाफदेही नभए जनतामा व्यवस्था प्रतिको नै विश्वास घट्दै गएको छ। जनप्रतिनिधिले अब जवाफ दिनुपर्छ।”

उनले उठाएका ७ प्रश्नहरू यस्ता छन्, जसले सिधै जनताको प्रतिनिधित्व गर्दछ :

१. सात वर्षदेखि धुलाम्य कलुवापुर–ढक्का सडक : कालोपत्रे कहिले हुन्छ?

कलुवापुर क्षेत्रको २ किमी र ढक्का क्षेत्रको ५ किमी सडक अहिलेसम्म पनि ग्राभेलमा सीमित छ। स्थानीय वर्षामा हिलो र गर्मीमा धुलोले हैरान छन्, नेता भट्टले लेखेका छन्– “किन ढिला? कहिले हुन्छ कालोपत्रे माननीय ज्यू?”
---
२. हुलाकी सडक ९ वर्षदेखि अधुरो : किन कारबाही भएन दोषीमाथि?

२०७३ सालमा ठेक्का भएको बेलौरी–बेलडाँडी–दैजी खण्ड अझै कालोपत्रे हुन सकेको छैन।
“९ वर्षसम्म काम नगर्ने कम्पनीलाई कारबाही किन भएन? कसले ढिलाइ गर्‍यो? जनप्रतिनिधिले कस्तो पहल गर्नुभयो?” भट्टको सिधा प्रश्न छ।
---
३. चौधर नदीको स्थायी तटबन्ध: अझै योजना मात्रै?

बर्षेनी चौधर नदीले बस्ती डुबाउँछ, जनधनको क्षति हुन्छ। तर स्थायी तटबन्धको काम कहिलेदेखि योजना मै सीमित?
“बजेट व्यवस्थापन कहाँ पुग्यो? आउँदो वर्ष चौधर पस्न रोक्न के तयारी छ?” भट्टको आवाज स्पष्ट छ – योजना होइन, काम देखियोस्।
---
४. सीमाना अतिक्रमण र हुलाकी सडकको बाधा : किन मौन छन् निर्वाचित जनप्रतिनिधि?

भारतको नक्सामा नेपाली जमिन देखिनु, सीमामा बारम्बार अतिक्रम, हुलाकी सडकमा अवरोध—यी संवेदनशील विषयमा आवाज नउठाउने प्रतिनिधिको कामप्रति भट्ट गम्भीर छन्।“जनताको सम्पत्ति र सिमा संरक्षणको दायित्व तपाईंहरूको होइन?”नेता भट्टले सोधेका छन्।
---
५. दोदा नदीको वार्षिक बाढी : स्थायी समाधानको योजना कहिले?

प्रत्येक वर्ष बाढीले सिमरी हुँदै बस्ती पस्यो, करोडौंको क्षति भयो। फेरि मर्मत, फेरि बजेट। यही चक्रमा जनता ।
“स्थायी बाढी नियन्त्रणको योजना के हो? किन अझै माटो हालेर मात्र सम्हाल्ने काम भइरहेको छ?”
---
६. हुलाकी सडकमा ब्यारियल : किन राज्यले जनतालाई बाधा गर्‍यो?

कैलाली-कञ्चनपुर जाेड्ने भन्सार नाकामा राती ब्यारियल राखेर स्थानीयको आवाजाही रोकिँदा दक्षिणी क्षेत्रका जनता पीडित छन्। उनले सोधेका छन् –“ब्यारियल हटाएर निर्वाद आवत–जावतको व्यवस्था गर्नु पर्दैन? तपाई जनप्रतिनिधिको मौनता किन?”

७. महाकाली बहुमुखी क्याम्पस बेलाैरीको परीक्षा केन्द्र धनगढी सारियो : किन यस्तो विभेद?

महाकाली बहुमुखी क्याम्पसको परीक्षा केन्द्र यसपालि हटाइयो, तर दोधारा जस्तो क्याम्पसमा भने कायम।“के जनप्रतिनिधिको कमजोरीले यस्तो भयो? विद्यार्थीलाई जवाफ चाहिन्छ – समाधान कहिले?”

जनताले जवाफ खोजिरहेका छन् – अब मौन बस्ने छुट छैन! युवा नेता पल्लवराज भट्टका यी प्रश्नहरू कुनै व्यक्तिगत आक्रोश होइनन्। यी आवाजहरू हजारौं जनताको व्यथा हुन्। 

“यदि समाधान हुँदैछ भने जनतालाई स्पष्ट जानकारी दिइयोस् – कसरी, कहिले? नहुनु पर्ने हो भने किन? जवाफ दिनुहोस्, मौन बस्ने समय सकिएको छ,” एमाले नेता भट्टले लेखेका छन् ।

अन्तिम अध्यावधिक: ४ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस