बेलौरीमा नि:शुल्क लोक सेवा — युवालाई भविष्य निर्माणकाे टेवा

होमपेज / समाचार /
‘क्यारियर हब’ काे रुपमा पालिका अघि बढ्दै : मेयर चाैधरी
  • शीतल भट्ट
  • ७ बैशाख २०८२ (३ घण्टा अघि)
  • १७६

बेलौरी, कञ्चनपुर

बेलौरी नगरपालिकाले पछिल्लो पटक आयोजना गरेको नि:शुल्क लोक सेवा तयारी कक्षा सफलतापूर्वक सम्पन्न भएको छ।

खरिदार पदको पहिलो पत्र केन्द्रित यो तयारी कक्षा १६ चैत २०८१ देखि सञ्चालनमा आएको थियो। ६० जना भन्दा बढी स्थानीय युवा सहभागी रहेको कक्षाको आइतबार सम्पन्न गरिएको हाे।

समारोहमा नगरका उपप्रमुख, प्रवक्ता, प्रशासन अधिकृतसहित पालिकाका कर्मचारी, प्रशिक्षक र सहभागीहरूको उत्साहजनक उपस्थिति थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले यस्ता कार्यक्रमहरू पालिकाको भविष्यप्रतिको लगानी भएको उल्लेख गरे।

“शिक्षा अब घरमै सुलभ” — उप–प्रमुख चौधरी

समापन समारोहका प्रमुख अतिथि बेलौरी नगर उप–प्रमुख जोगराम चौधरीले कक्षा सफल रूपमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै यस्तो ऐतिहासिक प्रयासले पालिकाको पहिचान बदल्न सहयोग पुर्‍याएको बताए।
“अब युवा पंक्तिलाई काठमाडौं जानु नपर्ने अवस्था बन्यो,” उनले भने, “हामीले गाउँमै पढ्ने, अभ्यास गर्ने र प्रतिस्पर्धा जित्ने वातावरण तयार गरिरहेका छौं।”

उप–प्रमुख चौधरीका अनुसार, पालिकाले युवालाई लक्षित गर्दै आगामी वर्षहरूमा थप योजना ल्याउने तयारी गरिरहेको छ, जसमा प्राविधिक तालीम, स्वरोजगार तालिम, करियर काउन्सेलिङ लगायतका पहलहरू समावेश हुनेछन्।

“यहाँको युवामा अपार सम्भावना छ” — प्रवक्ता भुल

कार्यक्रमका विशिष्ट अतिथि हर्कबहादुर भुल, नगर प्रवक्ताले भने, “युवाको आँखा अब अवसर खोज्न राजधानी होइन, आफ्नै नगरतर्फ फर्किन थालेको छ।”
उनले यस्ता कार्यक्रमहरूले केवल परीक्षा होइन, आत्मबल निर्माणमा पनि योगदान दिएको उल्लेख गरे।
“बेलौरीमा यस्तो कार्यक्रम हुनु आफैमा गर्वको विषय हो। अब हामी अझ सशक्त योजनासहित अगाडि बढ्नेछौं,” भुलले भने।

“आजको कक्षा, भोलीको भविष्य” — अधिकृत ओझा

कार्यक्रमका सभापति तथा प्रशासन अधिकृत झपीराज ओझाले तयारी कक्षा बेलौरी नगरपालिकाको दीर्घकालीन सोचको प्रतिबिम्ब भएको बताए।
“हामीले देखेका छौं — अवसर दिइए युवा कति सक्षम छन्,” ओझाले भने, “यही सोचले हामीलाई यस्ता कार्यक्रमलाई नियमित, फराकिलो र प्रविधियुक्त बनाउने ऊर्जा दिएको छ।”

उनले पालिकाले आगामी वर्षहरूमा सेवा आयोगका अतिरिक्त अन्य प्राविधिक क्षेत्रका परीक्षाका लागि समेत तयारी कक्षा सञ्चालन गर्ने योजना सार्वजनिक गरे।

सुदूरपश्चिम प्रदेशका एक उत्कृष्ट लाेक प्रशिक्षक समेत रहेका ओझाले सहभागी विद्यार्थीलाई लाेक सेवा परीक्षा लागि मेहनत र निरन्तरताकाे अभ्यासमा अभ्यस्त रहन अनुरोध गरेका छन् ।

डिजिटल माध्यम र दक्ष प्रशिक्षकको सहकार्य

तयारी कक्षामा सूचना प्रविधिको भरपूर प्रयोग गरिएको जनाइएको छ। तालिका, पढाइ सामग्री, अभ्यास कागजातहरू डिजिटल प्लेटफर्ममार्फत उपलब्ध गराइयो।
नेपाल सरकारका उपसचिव पर्शुराम पोखरेल, प्रशासन अधिकृत झपीराज ओझा लगायतका अनुभवी प्रशिक्षकहरूले विद्यार्थीलाई रणनीति, पाठ्यवस्तु र परीक्षा मनोविज्ञान सम्बन्धी प्रशिक्षण दिएका थिए।

“सूचना प्रविधि बिना सम्भव छैन” — कम्प्युटर अपरेटर पाण्डे

बेलौरी नगरका कम्प्युटर अपरेटर अशोक पाण्डेले कक्षा सञ्चालनमा सूचना प्रविधिको भूमिकालाई विशेष रूपमा उल्लेख गरे।
“हामीले कक्षाको सम्पूर्ण व्यवस्थापन डिजिटल प्रणालीमा आधारित बनाएर पारदर्शिता, समय व्यवस्थापन र पहुँच सुनिश्चित गरेका छौं,” उनले भने।
उनका अनुसार, सहभागीहरूलाई सामग्री, तालिका, अभ्यासपत्र र रेकर्डेड व्याख्यानहरू समेत अनलाइनमार्फत उपलब्ध गराइएको थियो।
“यस्तो प्रविधिमैत्री अभ्यासले गाउँमा बसेर पनि शहरसरह तयारी गर्ने सम्भावना देखाएको छ,” पाण्डेले थपे।

सहभागी उत्साहित

सहभागीहरूका अनुसार यस्ता कक्षाले उनीहरूमा आत्मविश्वास र स्पष्टता ल्याएको छ। सहभागी सुरिला चौधरीले भनिन्, “अब मलाई थाहा छ — कुन किताब पढ्ने, कसरी तयारी गर्ने।”
अर्का सहभागी टेकराज पन्तले थपे, “यो कक्षा हाम्रो लागि अवसर र आशाको केन्द्रजस्तै भयो।”

‘क्यारियर हब’ काे रुपमा पालिका अघि बढ्दै : मेयर चाैधरी

बेलौरी नगरपालिकाले समापन कार्यक्रम मार्फत एक संकेत दिएको छ — लोक सेवा तयारी मात्रै होइन, अब युवा लक्षित विविध सीपमूलक कार्यक्रमहरू समेत पालिकाबाटै सञ्चालन हुने बेलाैरी नगरप्रमुख पाेतीलाल चाैधरीले बताए।

उनलेे युवालाई शिक्षा र सीपयुक्त बनाउँदै,भविष्य निर्माणगर्ने स्थानीय ‘क्यारियर हब’का रूपमापालिका अघिबढी रहेको समेत जनाएका छन्।,

अन्तिम अध्यावधिक: ७ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस