जनतासँग माओवादी तराई–मधेस जागरण अभियानको भव्य समापन कञ्चनपुरमा हुँदै

होमपेज / राजनीति / समाचार /
अध्यक्ष प्रचण्डको उपस्थितिमा ऐतिहासिक सभा, तयारी तिव्र
  • निरु चौधरी
  • १२ बैशाख २०८२ (४ दिन अघि)
  • ५८२

बेलाैरी, कञ्चनपुर -

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सञ्चालन गर्दै आएको ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ वैशाख १७ गते कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित महेन्द्र स्मारकमा भव्य सभासहित समापन हुने भएको छ।

पार्टीका नेता तथा बेलौरी नगरपालिकाका मेयर पोतीलाल चौधरीका अनुसार अन्तिम चरणमा पुगेको अभियानलाई ऐतिहासिक र प्रभावकारी बनाउन सुदूरपश्चिमका जिल्लाहरूमा व्यापक तयारी भइरहेको छ। चौधरीले भने, “यो अभियान जनस्तरसम्म पुग्ने गरी ऐतिहासिक बनाउने हाम्रो उद्देश्य हो, त्यसअनुसार तयारीलाई तीव्र बनाइएको छ।”

पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन १२ गते झापा जिल्लाबाट अभियानको उद्घाटन गरेका थिए। अभियान पूर्व–पश्चिम लोकमार्ग र हुलाकी राजमार्ग हुँदै देशका विभिन्न भूभाग हुँदै अब कञ्चनपुर पुग्न लागेको हो।

अभियानको अन्तिम तयारीबारे जानकारी दिँदै माओवादी केन्द्र बेलौरी नगर सचिव सुन्दर चौधरीले रेडियो सुदूर सञ्चारसँग भने, “अब अभियानको समापन चरण नजिकिँदैछ, त्यसको तयारीस्वरूप १२ वैशाख बिहान ११ बजे नगर कमिटीको विस्तारित बैठक बोलाइएको छ। हामी अहिले पूर्ण तयारीमा जुटेका छौं।”

नगर कमिटीको विस्तारित बैठकले कार्यक्रमको विस्तृत कार्यतालिका तय गर्दै व्यवस्थापकीय र प्रचारप्रसार पक्षमा आवश्यक निर्णयहरू लिएको माओवादी बेलौरी नगर अध्यक्ष लालबहादुर चौधरीले जानकारी दिए। “राजनीतिक, व्यवस्थापकीय र प्रचारप्रसार पक्षलाई प्राथमिकतामा राखेर तयारी अघि बढाइनेछ,” उनले भने।

प्रमुख समापन कार्यक्रमको अघिल्लो दिन वैशाख १६ गते साँझ पुनर्वास नगरपालिका–११ डोके बजारमा पार्टी अध्यक्ष प्रचण्डको स्वागतमा भव्य कार्यक्रम आयोजना गरिने छ। साेहीदिन वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको केन्द्रीय नेतृत्त्व टोलीले पुनर्वास–२ मोतिबस्तीमा शहिद परिवारहरूसँग विशेष भेटघाट तथा छलफल गर्ने कार्यक्रम तय भएको छ।

अध्यक्ष प्रचण्डले पुनर्वास-बेलाैरी पैदल यात्रा गरी बेलौरी नगरपालिका अन्तर्गतको छोटी भन्सार क्षेत्र, अलपत्र हुलाकी सडकको निरीक्षण, सीमावर्ती अवस्थाको अवलोकनका साथै बेलौरी–५ स्थित शोभाताल छेउको शहिद पार्कमा पुगेर शहिदहरूको स्मृतिमा माल्यार्पण गर्ने कार्यक्रम पनि तय गरिएको माओवादी नेता अमर सिंह चाैधरीले बताए ।

उनले भने, बेलौरी नगर सभाहलमा अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरिने छ । भने, बेलडाँडी गाउँपालिकामा कोणसभा आयोजना गरिने भएको छ।

नेकपा माओवादी केन्द्र कञ्चनपुर क्षेत्र नं. १ का प्रभावशाली नेता तथा सुदूरपश्चिम प्रदेश सदस्य चौधरीका अनुसार, “वैशाख १७ गते महेन्द्रनगरमा जनसागरको उपस्थितिमा अभियानको समापन गरिनेछ।”

पार्टीकाे “यो अभियानले तराई–मधेसका जनतासँगको सम्बन्ध थप सघन बनाउनेछ भने संगठनात्मक बल समेत सुदृढ हुने विश्वास गरिएको छ नेता चाैधरीलेे भने ।”

अन्तिम अध्यावधिक: १२ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस