सङ्घीय संसद्को बर्खे अधिवेशन आजदेखि शुरू भएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको छ । उहाँले संसद्को यो अधिवेशन कानून निर्माण, सरकारको नीति तथा कार्यक्रम, बजेटसँगै नागरिकका आकाङ्क्षा सम्बोधनलगायत विषयमा प्रभावकारी बन्ने अपेक्षा व्यक्त गर्नुभयो ।
आजको बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२’ लाई पेस गर्ने कार्यसूची छ । पहिलो बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिएको सम्बोधन स्थगित भएको छ ।
प्रतिनिधिसभा बैठकमा अहिले विभिन्न दलका नेताहरूले धारणा राखिरहेका छन् । बैठकमा पार्टीको तर्फबाट समय लिएर नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेसले एमालेसँग गरेको सत्ता सहकार्यको सहमति अक्षरशः पालना गर्ने बताउनुभएको छ । नेकपा एमालेका सांसद गोकर्णराज विष्टले पार्टीको तर्फबाट धारणा राख्दै अराजकता र अस्थिरता चाहने शक्तिको चलखेल बढेको भन्दै ती प्रयासलाई कानूनी प्रक्रियामार्फत समाधान गरिने बताउनुभयो ।
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले वैशाख १५ गतेसम्मको एउटा र वैशाख १६ गतेदेखि ३१ गतेसम्मको अर्को क्यालेन्डर तयार पारेको छ ।
आजदेखि वैशाख ३१ गतेसम्मको क्यालेन्डर अनुसार प्रतिनिधिसभा बैठक अब १४, १५ र १६ गते बस्नेछ । त्यसपछि वैशाख १९ गतेको बैठकमा आउँदो आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । नीति तथा कार्यक्रम संयुक्त सदनमा राष्ट्रपतिले प्रस्तुत गर्नुहुनेछ । त्यसपछि २२, २३, २४, २५ २६, २८, ३० र ३१ गते प्रतिनिधिसभाका बैठक बस्नेछन् । वैशाख २८ गते प्रि–बजेट छलफल शुरू हुनेछ ।