डोकेबजार, कञ्चनपुर –
कञ्चनपुरको परासन क्षेत्र अन्तर्गत डोकेबजार अस्थायी ट्राफिक प्रहरी पोस्टले ट्राफिक नियम पालना गर्ने गराउने कार्यमा सक्रियता देखाएको छ।
ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती अन्तर्गत पर्ने उक्त पोष्टले ट्राफिक नियम पालना गर्ने गराउने कार्यमा सुरक्षा व्यवस्था कडाइ गर्दै आएकाे छ।
ट्राफिक प्रहरी हवल्दार जीवन भण्डारीको नेतृत्वमा खटिएको टोलीले दैनिक रुपमा सडकमा निगरानी बढाउँदै ट्राफिक नियमा उल्लंघन गर्ने सवारी चालकहरूलाई आवश्यक कारबाही समेत गरिरहेको छ।
टोलीले हेलमेट विना सवारी चलाउने, कागजात नभएका सवारी साधन, मादक पदार्थ सेवन गरेर गाडी चलाउने तथा तीव्र गतिमा सवारी चलाउनेहरूलाई विशेष प्राथमिकताका साथ नियन्त्रणमा ल्याउँदै आएको छ।
“सडक सुरक्षामा कुनै सम्झौता हुँदैन,”प्रहरी हवल्दार भण्डारी भन्छन्, "नियम उल्लंघन गर्दा केवल चालक मात्र हैन, अन्यको ज्यान पनि जोखिममा पर्छ। त्यसैले हामी कारबाहीसँगै जनचेतनामा पनि सक्रिय छौं।”
अभियानअन्तर्गत ट्राफिक टोलीले डोकेबजार आसपासका बस्ती, विद्यालय तथा सार्वजनिक स्थानहरूमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ। बालबालिका, युवायुवतीदेखि वृद्धवृद्धासम्मलाई सडक पार गर्दा अपनाउनुपर्ने सतर्कता, ट्राफिक संकेत चिन्हको महत्त्व, र सुरक्षित सवारी संस्कारबारे जानकारी दिइँदैछ।
स्थानीय बासिन्दाहरूले ट्राफिक प्रहरीको यो सक्रियतालाई सकारात्मक रुपमा लिएका छन्। उनीहरू भन्छन्, "यसअघि लापरवाहीले सडकमा भयको अवस्था थियो, अहिले अनुशासनको अनुभव हुन थालेको छ।”
ट्राफिक पोस्ट परासन, डोकेबजारले आगामी दिनहरूमा प्रविधि प्रयोग गर्दै सवारी साधन चेकिङ प्रक्रियामा थप पारदर्शिता र चुस्तता ल्याउने तयारी समेत गरिरहेको जनाएको छ।
प्रहरीको यस अभियानले सम्भावित दुर्घटना न्यूनीकरणमा ठूलो सहयोग पुर्याउने अपेक्षा गरिएको छ।