सुदूरपश्चिम : माओवादी अध्यक्ष ‘प्रचण्ड’काे मर्निङ वाक देखि सुरुहुने जनजागरण अभियान

होमपेज / राजनीति /
यस्ता छन् सुदूरपश्चिममा“मर्निङ वाक” देखि सुरुहुने कार्यक्रम
  • रेडियो सुदूर सञ्चार
  • १४ बैशाख २०८२ (२ दिन अघि)
  • १५२

बेलाैरी, कञ्चनपुर -

नेकपा माओवादी केन्द्रले सोमबार देखि सुदूरपश्चिम प्रदेशमा विशेष अभियान सञ्चालन गर्न लागेको छ। हुलाकी राजमार्गलाई केन्द्रमा राखी, माओवादी केन्द्रले “जनता सङ्ग माओवादी : तराई–मधेश जनजागरण अभियान” अन्तर्गत कैलाली र कञ्चनपुरमा अभियान सञ्चालन गर्न लागेको हो।

गत फागुन दोस्रो साताबाट पूर्वी नेपाल झापादेखि सुरु गरिएको अभियान कञ्चनपुरमा पुगेर समापन गरिने माओवादी केन्द्रले जनाएको छ। पार्टीका केन्द्रीय सदस्य ओम विक्रम भाट (सरल)का अनुसार कैलाली र कञ्चनपुरमा अभियानका लागि तीव्र तयारी भइरहेको छ।

पूर्वबाट सुरु गरिएको अभियान लुम्बिनी प्रदेशसम्म सञ्चालन गरिएको थियो भने सुदूरपश्चिममा १५ वैशाखदेखि १७ वैशाखसम्म सञ्चालन गरिनेछ। कैलालीको टीकापुरबाट सुरु हुने अभियान कञ्चनपुरको महेन्द्रनगरमा पुगेर समापन गरिने भाटले जानकारी दिए।

“वैशाख १५ गते सोमबार नै पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ टीकापुर पुग्ने कार्यक्रम तय भएको छ,” भाटले भने, “अध्यक्षज्यू टीकापुर पुगेपछि औपचारिक रूपमा अभियान सुरु हुनेछ।”

कैलालीकाे टीकापुरस्थित सती कर्णाली पुलमा स्वागत कार्यक्रम आयोजना गरी अभियान थालनी गरिनेछ। त्यसपछि बिहान मर्निङ वाक, सहिद परिवारसँग भेटघाट, टीकापुर झुंगामा जनसभा तथा बैसनपुर, धनगढीमा सहिद परिवारसँग अन्तरक्रिया गरिनेछ। धनगढी भन्सार क्षेत्र हुँदै डोकेबजारबाट १६ गते साँझ कञ्चनपुर प्रवेश गरिने कार्यक्रम तय गरिएको छ।

डोकेबजार प्रवेशपछि हुलाकी राजमार्ग केन्द्रित अभियान सञ्चालन गरिनेछ। पुनर्वास नगरपालिकामा स्वागत तथा भेटघाट कार्यक्रम, मोतीबस्तीमा सहिद परिवारसँग छलफल गरि १७ गते बिहान पुनर्वास टु बेलाैरी मर्निङ वाक, त्यसपछि बेलाैरी-५ रामनगर खानेपानी आयोजना उद्घाटन, सहिदको सालिकमा माल्यार्पण, शोभाताल र सीमा अवलोकन, बिहान ११ बजे बेलाैरी नगरपालिकाकाे सभा हलमा वृहत् अन्तरक्रिया गरी दिउँसो १ बजे बेलडाँडी र बेदेकोटमा स्वागत तथा भेटघाट कार्यक्रम राखिएको छ।

अन्ततः १७ गते दिउँसो ३ बजे भीमदत्त नगरपालिका–४, महेन्द्रनगरस्थित संविधान चोकमा आयोजित सभासँगै अभियानको समापन गरिनेछ।

सुदूरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा आयोजना हुने अभियानमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयले भने, “हुलाकी राजमार्ग केन्द्रित अभियानको समापन कञ्चनपुरमै हुने भएकाले अभियान सफल बनाउन हामी सबै नेता–कार्यकर्ता खटिएका छौँ।” उनले थपे, “पार्टीले सञ्चालन गरेको अभियान हामीले पनि जिल्लामा सफल पार्न पूर्ण समर्पणका साथ खटिएका छौँ।”

पार्टी अध्यक्ष प्रचण्डकै नेतृत्वमा सञ्चालन हुने अभियान सफल पार्न सुदूरपश्चिम प्रदेशका इञ्चार्ज गिरीराजमणी पोखरेलसहित दुबै जिल्लाका तथा प्रदेशका नेता–कार्यकर्ता युद्धस्तरमा परिचालित भएका छन्। अभियानले पार्टी र जनताको हितमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

अन्तिम अध्यावधिक: १४ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस